भक्तपुर- भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक लाख ८६ हजार ९०१ रहेको छ। जिल्ला निर्वाचन कार्यालयले नगरपालिकास्तरमा आयोजना गरेको एकमहिने फोटोसहितको मतदाता नामावली संकलन अभियानअन्तर्गत दुई हजार ५३० नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीका अनुसार भक्तपुर नगरपालिकामा ५७ हजार ३८३, सूर्यविनायक नगरपालिकामा ४६ हजार २९५, मध्यपुर थिमि नगरपालिकामा ४१ हजार २९६ र चाँगुनारायण नगरपालिकामा ४१ हजार ९२७ मतदाता संख्या पुगेको जानकारी दिए। जिल्ला निर्वाचन कार्यालयले चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा सञ्चालन गरिएको अभियानमा एक हजार ३२८ पुरुष र एक हजार २०२ महिलाले नाम दर्ता गराएका छन्। भक्तपुर नगरपालिकाको हकमा जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराउन आह्वान गरिएको थियो।
अभियानअन्तर्गत सूर्यविनायकमा महिला २६४ र पुरुष ३३९, मध्यपुर थिमिमा महिला १७३ र पुरुष १७८, चाँगुनारायणमा महिला ३३२ र पुरुष ३८७ तथा भक्तपुर जिल्ला प्रशासन तथा जिल्ला निर्वाचन कार्यालयमा आएर ४२४ पुरुष र ४३३ महिलाले नाम दर्ता गराएका थिए। नगरपालिकास्तरमा अभियान सम्पन्न भए पनि नाम दर्ता गर्न छुटेकाको हकमा जिल्ला प्रशासन वा जिल्ला निर्वाचनमा दर्ता गराउन सकिने सूचना अधिकारी बीसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।