सांसद भट्ट, फाइल तस्बिर
काठमाडौं– मुलकको परराष्ट्र सम्बन्धबारे अध्ययन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उपसमिति गठन गरेको छ। समितिले एमालेका सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिका सदस्यमा कांग्रेस सांसद पुष्पा भुसाल, माओवादीका सुदन किराँती, नेकपा एकीकृत समाजवादी पार्टीका सरला यादव र जनता समाजवादी पार्टीका सांसद रेणुका गुरुङ छन्।
परराष्ट्रमन्त्री नारायण खड्काले नयाँ परराष्ट्र नीति ल्याउन गृहकार्य गरिरहेको बताइरहेका छन्। त्यही पृष्ठभूमिमा संसदीय समितिले पनि परराष्ट्र सम्बन्धबारे अध्ययन गरेर सरकारलाई सुझाव दिन उपसमिति गठन गरेको हो।
उपसमितिलाई विभिन्न समयमा सरकारले गठन गरेका समितिको प्रतिवेदन अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर परराष्ट्र नीति/निर्माण, सञ्चालन तथा चुनौतीबारे धारणा निर्माण गर्ने मुख्य जिम्मेवारी तोकिएको छ।
उपसमितिका संयोजक भट्टले परराष्ट्र मामिला सञ्चालनमा विभिन्न समयमा देखिएका समस्या, रिक्तता र चुनौतीहरुलाई ध्यानमा राखेर अध्ययन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।