काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छलिको मुद्दामा पनि मुछिएका छन्।
राजस्व अनुसन्धान विभागले ढकालविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड बडी रुपैयाँ असुली र ३ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ।
विभागले ढकालसहित उनकी पत्नी उमाकुमार ढकाल तथा परिवारका सदस्य सरोज ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठलाई प्रतिवादी बनाउँदै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।
विभागका अनुसार ढकाल र उनीसहितको समूहले काठमाडौंको नागार्जुन नगरपालिका–१ ठेगाना उल्लेख गरी दर्ता भएको आनसान इन्टरनेशनल प्रालिबाट मुल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नक्कली तथा झुटा विवरण तयार पारी राजस्व छलि गरेको पाइएको छ।
आनसान इन्टरनेशनल प्रालिबाट राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर
विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको (कारोबार शून्य) देखाइ राजस्व चुहावट गरेको देखिएको विभागले जानकारी दिएको छ।
विभागले प्रतिवादी बनाएकामध्ये शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल र सान्टु श्रेष्ठ आनसान इन्टरनेशनल प्रालिका सञ्चालक तथा पदाधिकारी हुन्। यस्तै, राजेश्वर श्रेष्ठ आनसानको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका सञ्चालक हुन्।
विभागका अनुसार उनीहरुले भ्याटतर्फ ४२ करोड २६ लाख ७ हजार ३५१ रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ ९ करोड ४७ लाख ८४ हजार ३७६ रुपैयाँ गरी १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बराबरको राजस्व छलि गरेको देखिएको छ।
विभागले उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना समेत हुने भन्दै २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुली र ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।