काठमाडौं- नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेलधुराको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ। उक्त साझेदारीमार्फत् गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।
कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुका साथै अन्य गाउँपालिकाबासीको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो। अन्तरक्रियाका क्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आठ दिने तालिम
यसैबीच बैतडीको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी आठ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो।
यस कार्यक्रमले स्थानीय युवाहरुलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देशभित्रै युवा उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनामार्फत् दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी दिएको छ।
पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनामा दरखास्त दिइ छनोट भएका युवाहरु पुस ११ देखि १८ सम्म सञ्चालित सात दिने तालिम कार्यक्रममा १२० जना सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।