काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन होटल पुगेका छन्।
ज्ञानेन्द्र सोमबार दिउँसो क्रिकेट टोली रहेको होटल रमादा पुगेका हुन्। आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी२० विश्वकप ग्लोबल छनोटको लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
यद्यपि, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी अझै होटल पुगेका छन्। ‘यी दुई खेलाडी आझ साँझसम्म आइपुग्ने छन्। उनीहरुबाहेक अन्य सबै खेलाडी होटल पुगिसकेका छन्,’ क्यान स्रोतले भन्यो।
३० खेलाडीलाई बोलाइएको बन्द प्रशिक्षणमा सोमबार १४ खेलाडी मैदानमा सहभागी भएका थिए। पहिलो दिन टोली फिटनेश परीक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको छ।
कारबाहीमा परेका ज्ञानेन्द्रसहित सोमपाल कामी, निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोराले रिपोर्टिङ गरेका थिएनन्। ९ जनामध्ये करण र सोमपाल बाहेक अन्य सबै होटल पुगिसकेका छन्।
यसअघि ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि क्यानसँग विवाद सुरु भएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकरण लिँदै मंसिर २९ मा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाउँदै ४ क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो।
तर, आइतबार भएको छलफलमा ग्रेडमा नराख्ने निर्णय भने क्यानले आगमी बोर्ड बैठकमार्फत फिर्ता लिने भएको छ। आइतबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक्षणमा फर्किने सहमती बनेको थियो। कप्तान भने सन्दीप लामिछाने नै यथावत् रहने छन्।
पहिलो चरणको बन्द प्रशिक्षण एक हप्ता हुनेछ। प्रधानमन्त्री कपको लागि सम्भवत: एक दिनअघि क्यानले खेलाडी फुकुवा गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।