काठमाडौं– पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
हफिजले सोमबार एक पत्रकार सम्मेलन गर्दै १८ वर्षीय क्रिकेट जीवनबाट सन्यास घोषणा गरेका हुन्। यद्दप, हाफिज फ्रेन्चाइज टी२० क्रिकेटमा भने उपलब्ध हुने छन्।
‘१८ वर्षअघि मैले पाकिस्तान क्रिकेट टोलीमा एउटा यात्रा सुरु गरेको थिए,’ उनले भने,‘तर, म आजबाट औपचारिक रुपमा सन्यास लिन चाहन्छु।’
४१ वर्षीय हफिजले २००३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीय र बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गरेका थिए। उनले अन्तिम पटक टी२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
हाफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन्।
हफिजले १ सय ५ टेस्ट इनिङ्समा १० शतक र १२ अर्धशतकसहित ३ हजार ६ सय ५२ रन बनाउनुको साथै ५३ विकेट लिएका छन्।
हफिजले टेस्टमा यस अघिनै सन्यास लिइसकेका थिए। २०१५ मा बंगलादेशविरुद्ध २ सय २४, २०१४ मा न्यूजिल्यान्डविरुद्ध खेलेको १ सय ९७ र २०१२ मा श्रीलंकाविरुद्ध खेलेको १ सय ९६ रन यादगार प्रदर्शनमा पर्दछन्।
उनले ओडीआईमा ११ शतक र ३८ अर्धशतकसहित ६ हजार ६ सय १४ रन बनाएका छन्। उत्कृष्ट प्रदर्शन २०१३ मा श्रीलंकाविरुद्ध १ सय ४० रन अविजित थियो। ओडीआईमा १ सय ३९ विकेट लिएका थिए। टी२० आईमा हफिजले २ हजार ५ सय १४ रन बनाउनुको साथै ६१ विकेट लिएका छन्।
पाकिस्तानले २००९ को टी२० विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। २०१७ मा च्याम्पियन्स ट्रफीको उपाधि, २००७ को टी२० विश्वकप फाइनल र यस वर्षको टी२० विश्वकप सेमिफाइनल यात्रामा उनी टोलीका साथमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।