काठमाडौं– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्।
उनलाई आइतबार प्रहरीले सवारी ज्यान मुद्दामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका सोडारीलाई सवारी ज्यान मुद्दामा आजै म्याद थप गर्ने तयारी भइरहेको छ।
‘पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको जीपको ठक्करबाट एक महिला घाइते भएकी थिइन,’ डीएसपी जोशीले भने, ‘उनको उपचारका क्रममा मृत्यु भएपछि हामीले चालकलाई पक्राउ गरेका हौं।’
जीपको ठक्करबाट महिला घाइते भएपछि दुवै सवारीधनीले उपचार गराउनुपर्ने सहमति भएको थियो। सोही अनुसार ती महिलाको नेपालगञ्जमा उपचार भइरहेको थियो। उपचारकै क्रममा पुस ११ गते उनको मृत्यु भएको थियो। सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको जीपले ठक्कर दिएर उनलाई घाइते बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।