काठमाडौं– जुवा खेलिरहेका बेला पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र एकजना वडाध्यक्षसहित १३ जना विरुद्ध पाँच दिन म्याद थप भएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटले जुवा ऐन अनुसार उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको समय दिएको हो।
जाजरकोटका प्रहरी प्रमुख, डीएसपी मधुकुमार थापाका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–५ का ४२ वर्षीय दलबहादुर घर्ती, भेरी नगरपालिका–६ का ३४ वर्षीय शशी बुढा र भेरी नगरपालिका–४ का ४६ वर्षीय प्रचण्डजंग शाह छन्।
घर्ती भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुने भने बुढा भेरी–६ का वडाध्यक्ष तथा कांग्रेसको नगर सभापति हुन्। यस्तै, शाह भेरी–४ का वडासचिव रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अन्यमा भेरी–८ का २५ वर्षीय जीवन खत्री, भेरी–४ का २७ वर्षीय प्रभात केसी, भेरी–४ का ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी–४ का २७ वर्षीय नीराजन भँडेल, छेडागाड नगरपाललिका–१३ का ४२ वर्षीय कर्णबहादुर खड्का, छेडागाड–५ का ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड–१० का ३६ वर्षीय प्रशुराम गिरी, कुशे गाउँपालिका–९ का ४८ वर्षीय दिकपाल आरसी, रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ का २० वर्षीय विकाश विक र चौरजहारी–३ का ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उनीहरूलाई आइतबार बिहान करिब ३ बजेतिर भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको डीएसपी थापाले बताए।
प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ। मोबाइल बैंकिङबाट समेत कारोबार गरेको पाइएकाले जुवाको रकम धेरै हुन सक्ने प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।