काठमाडौं– रुकुम पश्चिममा एक युवकले मदिरा सेवन गरी श्रीमतीको हत्या गरेका छन्।
रुकुम पश्चिम बाफिकोट गाउँपालिका-९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्काको घाँटी थिचेर हत्या गरेका हुन्।
गत शुक्रबार राति मदिरा सेवन गरेर आएका खनालले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) धुर्वकुमार श्रेष्ठले बताए।
‘श्रीमान दैनिकजसो मदिरा सेवन गर्दा रहेछन्। त्यसदिन राति पनि मातेर आएका रहेछन्। श्रीमतीसँग निहुँ खोजेर आफैंले घाँटी थिचेर हत्या गरेका छन्,’ उनले भने,‘ आत्महत्या गरेको पुष्टि गराउन मृतकको सल प्रयोग गरेर झुण्डाएको अवस्थामा शव फेला पार्यौं।’
घटनापछि शंका लागेर खनाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेको उनले बताए। ‘हामीलाई शंका लागेर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा खनालले हत्या गरेको स्वीकार गरेका छन्,’ डीएसपी श्रेष्ठले भने।
हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर राखिएको छ। ‘हामीले मृतको पोस्टमार्टम गरिसकेका छौं। त्यसको सबै रिपोर्ट आएको छैन। त्यसपछि सबै अनुसन्धानमा खुल्ने छ,’ उनले भने।
आफ्नो बहिनी कमलाको हत्या नै भएको भन्दै दाजु पलबहादुर खड्काले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन्। मृतक खड्काको ६ महिनाको छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।