काठमाडौं– कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौं संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ। मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ।
आइतबार आयोजित एक पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए। प्रतियोगिताको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने सो अवसरमा जानकारी गराइयो।
त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रपैयाँ पुरस्कार पाउनेछन्। उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने टिमको टुंगो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि १ करोड ४० लाख लागत अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।