फाइल तस्बिर
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र रेलिगेसन जोनको च्यासल युथ क्लबले बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। योसँगै संकटाले जारी लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।
संकटा ७ खेलमा १३ अंकसहित तेस्रो स्थानमा यथावत् छ। च्यासलमाथि जित हात पारेको भए संकटा दोस्रो स्थानमा उक्लिने थियो। मनाङ सात खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ।
७ खेलमा ५ अंकसहित १३औं स्थानमा रहेको च्यासलले संकटाविरुद्ध ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेको थियो। उनी बिहीबार लिगकै लागि जापानबाट काठमाडौं आएका थिए।
उनी बिहीबारदेखि नै टोलीको प्रशिक्षणमा सामेल भएका थिए। प्रतिस्पर्धात्मक बनेको खेलमा उनले गोल भने गर्न सकेनन्।
खेलको पाँचौ मिनेटमा मैदानको दायाँ भागबाट फोडे फफोनाको पासमा उत्तम राईको हेडर च्यासलका डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट बचाए।
१०औं मिनेटमा उत्तमको प्रहार च्यासलका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बलमा अनमार्क रहेका फोडे फफोनाको प्रहार बारमा लाग्दै फर्कियो।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा संकटाका निरज बस्नेतको फ्रिककमा जोर्डन जुनियरले मिलाइदिएको पासमा उत्तमको प्रहार बाहिरियो।
दोस्रो हाफको अन्त्यतिर च्यासलाई दबाबमा राखेपनि संकटाले गोल गर्न भने सकेन। संकटासामू च्यासलको रक्षापङ्ति निकै व्यस्त बनेका थिए।
६३औं मिनेटमा सन्तोषको पासमा राजिव लोप्चनको प्रहार संकटाका गोलरक्षक राजुबाबू थापाले उत्कृष्ट बचाउ गर्दा च्यासल अग्रता लिनबाट चुक्यो।
७५औं मिनेटमा निरज बस्नेतले गोलरक्षक प्रदीप भण्डारीलाई बिट गर्दै गरेको प्रहार सागर थापाले गोललाइनबाट क्लियर गर्दै संकट टारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।