फाइल तस्बिर
काठमाडौं– ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १–० ले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप छनोटको सम्भावनालाई जीवित राखेको छ।
पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली मनाङका लागि कप्तान अन्जन विष्टले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमा आएको बललाई अन्जनले हेडरमार्फत् गोल गरेका थिए। सोही गोल खेलको निर्णयक बनेको थियो।
जितसँगै मनाङ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ। मनाङको १६ अंक पुगेको छ। यता, मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा झरेको छ। मछिन्द्रको १४ अंक छ।
एएफसी कप छनोटमा पुग्नका लागि मछिन्द्रले आइतबार हुने खेलमा नेपाल पुलिस क्लबलाई हराउनै पर्ने हुन्छ। मछिन्द्र पराजित भए वा बराबरीमा रोकिए मनाङले एएफसी कपमा देशको प्रतिनिधित्व गर्नेछ।
सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त क्लबमध्ये लिगको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि नै घोषणा गरेको थियो।
मनाङले अब आठौं चरणको खेल अर्को शनिबार च्यासल युथ क्लबसँग पोखरा रंगशालामा नै खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।