काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय निर्वाचन आयोगले मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ। शनिबार सवा चार बजेतिर आयोगले एक हजार ७४१ जनाको नामावली प्रकाशन गरेको हो।
शनिबार दिउँसो २ बजे दोस्रोपटक सुरु भएको बन्दसत्र बेलुका ५ बजेसम्मलाई स्थगित गरेर सहमतिबाट केन्द्रीय समिति चयनको प्रयास थालिएको थियो। सहमतिबाट केन्द्रीय समिति चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिमा साँझ ५ बजेसम्म छलफल हुने बताइएको थियो।
महाधिवेशन आयोजक समितिमा केन्द्रीय समिति चयन बारे सहमति जुट्न नसके निर्वाचनबाट नेतृत्व चयन हुने बताइएको सन्दर्भमा मतदाताको प्रारम्भिक नामावली प्रकाशन भएको हो। 'केन्द्रीय समितिमा सर्वसम्मतको लागि अध्यक्षले ५ बजेसम्मको समय माग्नुभएको छ। नभए, चुनावी प्रक्रिया सुरु हुने भनिएको छ। ५ बजेभित्र सहमति भएन भने निर्वाचनको प्रक्रिया अघि बढ्छ,' आयोगका सदस्य गोविन्द बटालाले नेपाल लाइभसँग भने।
उनले केन्द्रीय समितिमा सर्वसम्मत हुने र नहुने सम्भावना आधाआधा देखेको भन्दै मतदान हुने सम्भावना देखाए।
आयोगले भने प्रारम्भिक नामावलीमा दाबी विरोधको लागि आधा घण्टा समय दिएको छ। 'त्यसपछि अन्तिम नामावली प्रकाशन हुन्छ। त्यो ६ बजे गरिन्छ। त्यसपछि चुनावी कार्यक्रमको लागि नयाँ कार्यतालिका सार्वजनिक हुन्छ,' बटालाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।