काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनबाट विधान पारित भएको छ। शनिबारको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएपछि विधान पारित भएको हो।
सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिप रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको हो।
विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।