काठमाडौं– ‘कहिलेकाहीँ तपाईंले निश्चित सुन्दरतालाई प्रोत्साहन गर्न सबै विषय बुझ्नुपर्छ भन्ने छैन। मलाई लाग्छ, यो फिल्म पनि त्यही मार्गमा हिँडेको छ। यो कसैको दिमागमा निरन्तर हिर्काइरहेको जस्तो हो। सोच्ने शैली केही फरक हुन्छ, कहिले यता कहिले उता उफ्रिरहने बाँदरजस्तो।’
थाई फिल्म निर्देशक आपिचात्पोङ विरासेथकुलले सन् २०१० मा गार्जियनलाई दिएको अन्तरवार्ताको अंश हो यो। प्रसंग, सोही वर्ष प्रदर्शनमा आएको उनको फिल्म ‘अंकल बुङ्मी हु क्यान रिकल हिज पास्ट लाइभ्स’को हो। फिल्ममा देखाइएका दृश्यहरूको विषयमा उनका दर्शकले उठाएका सवालमा उनले कुटनीतिक जवाफ दिएका थिए।
विरासेथकुल ती सिमित थाइ निर्देशकहरुमा पर्छन्, जसले थाइल्याण्डमा कलात्मक फिल्म विकास गर्न योगदान दिए। थाई सरकारको निरन्तरको दबाबबीच पनि उनी फिल्म बनाउन र फिल्ममार्फत थाइल्याण्डमा भएको रुढीवादी विश्वास, पाश्चात्य प्रभाव र उत्तर आधुनिक विकृतिलाई देखाउन लागि परेका छन्।
उनको फिल्म ‘सिन्ड्रोम्स एण्ड सेन्चुरी’मा भएका दृश्यहरूमा सरकारले कैँची चलाउन खोज्दा विरासेथकुलले ‘स्वतन्त्र थाई फिल्म अभियान’को स्थापना गरेर कलात्मक स्वतन्त्रताका लागि वकालत गरेका थिए। जसको जवाफमा त्यहाँको संस्कृति मन्त्रालयले भनेको थियो, ‘आपिचात्पोङको फिल्म हेर्न कोही पनि जाँदैन। थाई मानिसहरुलाई कमेडी हेर्न मन पर्छ। हामीलाई हाँस्न मन पर्छ।’
सत्ता र सरकारको मान्यताविपरीत विरासेथकुल भने कलात्मक किसिमले देशको यथार्थ चित्र उतार्न लागि परे। त्यसैको परिणामस्वरूप आएको फिल्म थियो– अंकल बुङ्मी हु क्यान रिकल हिज पास्ट लाइभ्स।
विरासेथकुलका फिल्म धर्म, परम्परा र रुढीवादी सोचले भरिएका हुन्छन्। उनी स्वयं पनि आफ्नो देशलाई रुढीवादी सोचले भरिएको मान्छन्। अंकल बुङ्मी हु क्यान रिकल हिज पास्ट लाइभ्समा उनले कलात्मक स्वरूपमा आफूले देखेका यी विषय प्रस्तुत गरेका छन्, जसमा पुनर्जन्मदेखि सुन्दरताको चित्रणसम्मका विषय समेटिएका छन्।
पुनर्जन्मको कथा
अंकल बुङ्मी (थानापाट सैसयमेर अभिनित) वृद्ध अवस्थामा छन्। मृत्यु शनैःशनैः उनको नजिक आइरहेको छ। उनी मिर्गौला रोगी हुन्।
उनी किसान भएकाले वृद्ध अवस्थामा पनि खेतबारीतिरै देखिन्छन्। आफ्नो बारी नजिकै बसिरहेका उनको सहयोगका लागि समय-समयमा उनकी बहिनी जेन (जेनजिरा पोङ्पास अभिनित) आउँछिन्।
एक रात जब उनीहरु खाना खाइरहेका हुन्छन्, बुङ्मीकी मृत श्रीमती (नत्थाकर्न अप्हैवोङ अभिनित)को निम्ति दुवै जनाले प्राथना गरिरहेका हुन्छन्। तब, उनीहरुको सामुन्ने एउटा आकृति प्रकट हुन्छ। दशकअघि मरेकी बुङ्मीकी श्रीमती उनीहरुको सामुन्ने आउँछिन्।
धुमिल आकृति हुँदै बिस्तारै श्रीमतीले मानव आकार लिन्छिन्। दृश्यमा उनको स्वरूप आत्मा (भूत)बाट बिस्तारै वास्तविक शरीरमा प्रतीत हुन्छ। उनी आफ्नो श्रीमान् र उनकी बहिनीले गरेको प्राथना सुनेर त्यहाँ आएकी हुन्छिन्। उनी दृश्यमा यसरी प्रकट हुन्छिन्, लाग्छ उनी जेन र बुङ्मीसँगै छिन्, न कि आत्मा हुन्।
‘डिनर’ गरिरहेका उनीहरु भर्याङमा आवाज आएको सुन्छन्। रौंले भरिएको, राता आँखा भएको एउटा आकृति उनीहरुको सामुन्ने आउँछ। त्यो आकृति अरु कसैको नभएर वर्षौंअघि हराएको बुङ्मीको छोरा बोनुसोङ (जीरेसाक कोल्होङ अभिनित)को हुन्छ। राता आँखासहित प्रकट भएको ऊ केही वर्षअघि जंगलमा हराएको थियो।
एकातिर अपिचात्पोङको फिल्ममा बुङ्मी जीवनको अन्तिम समयमा आफ्ना प्रियजनहरूको कल्पना गरिरहेका छन्। अर्कातिर, समानान्तर समय रेखामा उनी आफ्नो पूर्वजन्मलाई पनि सम्झिरहेका हुन्छन्। मृत्युको निकटता बढ्दै जाँदा जब उनी एउटा गुफामा पुग्छन्, त्यो गुफा उनको निम्ती आमाको गर्भको रूपमा हुन्छ। त्यहाँ उनी आफ्नो पूर्वजन्मको कल्पना गरिरहेका हुन्छन्।
मृत्यु अंगाल्नुअघि बुङ्मी त्यही गुफामा जान्छन्। आफूले कुनै बेला गरेको कम्युनिष्टहरुको हत्या र खेतमा मारेका किराहरुको श्राप लागेर यो अवस्थामा आइपुगेको ठान्छन्। अन्तिम क्षणसम्म पनि आफू गुफामा जन्मिएको बताइरहन्छन्। आफ्नो कुनै जुनीमा गुफामा जन्मिएको उनको धुमिल सम्झना छ, तर त्यसलाई पूर्णरूपमा याद गर्न सक्दैनन्। बहिनी जेन र सहयोगी टोङ (सक्दा केइह्वुएडी अभिनित)सँग गुफामा गएका उनको डायलाइसिसका लागि लगाइएको पाइप निकालिन्छ। सपनामा उनी भविष्यको कुनै सभ्यता देख्छन्। भोलिपल्ट उनको मृत्यु हुन्छ।
अर्कातिर, बुङ्मीको मृत्युपछि बहिनी जेन आफ्नो साथी रोङ (कनोकपोर्न थोङ्ग्राम अभिनित)सँग बसेर अन्तिम संस्कारको तयारीमा हुन्छिन्। त्यत्तिकैमा त्यहाँ टोङ आउँछन्, जो हाल लामा भएकाले गुम्बामा बस्ने गरेका हुन्छन्। तर, उनलाई त्यहाँ बस्न मन हुँदैन। थकित भएर आएका उनी नुहाउन छिर्छन्। फर्किएर आउँदा विस्तारामा आफू, रोङ र जेनलाई नै पाउँछन्। बजार जानलाई कोठाबाट जब तीन जना बाहिरिन्छन्, तब कोठाभित्र विस्तारामा पनि उनीहरु नै बसिरहेका हुन्छन्।
माछासँगको संसर्ग र सौन्दर्य साटासाट
एक राजकुमारी छिन्, जो आफ्नो ‘कुरुपता’का कारण विक्षिप्त हुन्छिन्। पाल्कीमा चढेर आफ्ना अंगरक्षकहरुसँग जंगल गइरहेकी उनी बीचैमा रोकिन्छिन्। त्यहाँ रहेको सुन्दर झरनाको सौन्दर्यप्रति लालयित हुन्छिन्। अंगरक्षकसँग उनको प्रेम हुन्छ। अंगरक्षक उनको अनुहार सुन्दर भएको बताइरहन्छन्। तलाउ नजिकै उनीहरु प्रेममा बाँधिइरहेका हुन्छन्।
तलाउको प्रतिबिम्बमा उनी आफ्नो अनुहार सुन्दर भएको पाउँछिन्। उनी आफैंसँगको संवादमा भन्छिन्, ‘प्रतिबिम्ब त फगत एक भ्रम हो। यो पनि भ्रम नै हो त?’
राजकुमारी प्रेमी अंगरक्षकलाई पाल्कीतर्फ पठाएर त्यहाँ नुहाउन लाग्छिन्।
विराशेथकुलले पूर्वजन्मको श्रृङ्खलामा बुङ्मीको विगतलाई बिम्बात्मक रूपमा प्रस्तुत गरेका छन्। यस्तो बिम्ब, जुन सामान्यतयः अन्य फिल्ममा देख्न पाइँदैन।
‘कुरुप’ राजकुमारी झरनाअघि उभिएर आँसु खसाउँछिन्। वस्त्र उतारेर स्नान गर्न झरनाको पानी पत्थरमा ठोकिएर बनेको तलाउमा छिर्छिन्। तलाउमा छिरेसँगै तैरिएर आफूले केही क्षणअघि देखेको प्रतिबिम्बको कल्पना गर्छिन्। त्यत्तिकैमा तलाउमा भएको एक माछा उनको नजिक आउँछ। माछाको बनोट र रङ निकै सुन्दर हुन्छ। माछा राजकुमारीका दुई खुट्टाको बीचमा गई उसँग संसर्ग गर्छ।
एक मिनेटको यो दृश्यमा विराशेथकुलले पूर्वजन्मका दुई श्रृङ्खला प्रस्तुत गरेका छन्। एउटा राजकुमारीको दृष्टिकोणबाट, जो सुन्दरताको स्थापित परिभाषाको उपजस्वरुप आफैंलाई दुःखी बनाइरहेकी छिन्। अर्को, माछाको रुपमा। तलाउमा माछासँगको संसर्गपछि राजकुमारीको रूप उनले चाहेजस्तै सुन्दर बन्छ। राजकुमारीले छाडेका सुनचाँदी जुहारहरू तलाउमै छुट्छन्। उनी आफूले चाहेको ‘सुन्दरता’ लिएर निस्किन्छिन्।
कलात्मक दृश्यको वर्चश्व
थाइल्याण्डमा बलिउडमाजस्तै मसालेदार फिल्महरूको वर्चश्व छ। तर, तीमध्ये विराशेथकुल अपवाद हुन्, जो निरन्तर कलात्मक फिल्ममा काम गरिरहेका छन्।
‘अंकल बुङ्मीः हु क्यान रिकल हिज पास्ट लाइभ्स’ विराशेथकुलले गरेको कलात्मक विद्रोहको एउटा परिणाम हो। बहु–माध्यमिक कलात्मक सिर्जनात्मक प्रोजेक्ट ‘प्रिमिटिभ’को अन्तिम उत्पादन हो यो फिल्म। उनले फिल्मलाई व्यक्तिगत अनुभवसँग जोडेर निर्माण गरेको बताएका थिए। यसअघि यही श्रृङ्खलामा बनेका ‘अ लेटर टु अंकल बुङ्मी’ र ‘फेन्टम्स अफ नेबुवा’ जस्ता लघु चलचित्रहरू पनि कलात्मक तरिकाले बनाएका थिए।
विराशेथकुलको फिल्ममाथि टिप्पणी गर्ने धेरैले यसलाई गतिहीन र अत्यधिक सुस्त भएको टिप्पणी गरेका थिए। तर, ‘अंकल बुङ्मीः हु क्यान रिकल हिज पास्ट लाइभ्स’ गतिहीन नभएर ‘मेडिटेभिभ’ (ध्यान योग्य) गतिमा बगेको छ। दर्शकलाई फिल्मको पर्दामा हेर्दा हरेक दृश्य निकै ढिलो चलेको भान हुन्छ। विराशेथकुलको दृश्यांकनमा भएको विशेषतालाई बुझ्न यो गति नै आवश्यक देखिन्छ।
साधारणभन्दा साधारण ठाउँमा खिचिएका दृश्य पनि कलात्मक लाग्छन्। डायलाइसिसका लागि विस्तारामा बुङ्मी सुतिरहँदा राति झ्याउँकिरीहरू कराएको आवाजसँगै देखिने दृश्य, बुङ्मीका छोरा बोनुसोङले फोटोग्राफी गर्दा ‘मंकी घोष्ट’ खोज्न हिँडेको जस्ता दृश्यहरूको प्रस्तुति निकै कलात्मक छन्। तलाउमा राजकुमारीले माछासँग गरेको संसर्गमा दृश्य सम्पादन अब्बल छ।
तलाउमा छिर्नुअघि ‘कुरुप’ राजकुमारी जब प्रतिबिम्बमा आफ्नो अनुहार हेर्छिन्, तब अनुहारमा एक्कसी चमक देखिन्छ। तलाउमा छिर्दा वातावरणको रङ उदास हुन्छ। तलाउबाट बाहिरिँदा आएको सुन्दरताले वातावरणमा पनि असर पर्छ। यो दृश्यमा प्रयोग भएको रङ संयोजनको पक्ष आफैंमा निक महत्वपूर्ण हो।
आन्द्रेई ताक्रोब्स्कीबाट आफू निकै प्रभावित भएको मान्छन्, विराशेथकुल। उनको फिल्ममा पनि त्यसको प्रभाव देखिन्छ। उनले यो फिल्मलाई ५५ एमएमको क्यामेराबाट खिचेका थिए। आफ्नो बाल्यकालको बुझाइ र सम्झनालाई महसुस गराउन उनले गरेको यो प्रयोग उत्तिकै प्रभावशाली देखिन्छ।
‘कान्स फिल्म महोत्सव’जस्तो प्रतिष्ठित महोत्सवमा ‘पाम डि ओर’ अवार्ड दिलाएको यो फिल्म देखाउन आफ्नो देशमा भने विराशेथकुलले थुप्रै पापड बेल्नु परेको थियो। अवार्ड पाएपछि उनले भनेका थिए, ‘जति पनि हामीले बनाएका फिल्म छन्, थाई दर्शकलाई देखाउन चाहँदैनौं। किनकि, अहिलेको अवस्थामा हामीलाई स्वतन्त्रता छैन। हामी त्यो प्रणालीको भाग बन्न चाहँदैनौ, जहाँ निर्देशकले नै स्वयंलाई सेन्सर गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।