काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विचारको विकास गर्न र संगठन रुपान्तरण गर्न विशेष महाधिवेशन गरिने बताएका छन्।
आफूले लेखेको राजनीतिक प्रतिवेदन पारित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले वैचारिक विकासको सुरुआत भएको टिप्पणी गरे।
‘संगठनको रुपान्तरण गर्न र विचारलाई अझ विकसित गर्नका लागि हामीले स्थानीय चुनावपछि एउटा अधिवेशन गर्नुपर्छ भनेका छौं,’ प्रचण्डले भने, ‘यो नै टुंगियो, सबै पूर्ण भयो भन्ने होइन। वैचारिक विकासको यहाँबाट एतिहासिक सुरुआत भयो। अब चुनावपछि विशेष महाधिवेशन गरेर अझ त्यसलाई विकसित गर्छौं।’
पार्टीमा राम कार्की र हरिबोल गजुरेलको फरक मत समेटिएको लेखनाथ न्यौपानेको फरक मतलाई सम्मान गर्ने भनिएको उनले बताए। ‘यो आठौं महाधिवेशन बढो सभ्य भव्यरुपमा अगाडि बढेको छ। आज प्रतिवेदन जोडदार ढंगले पारित भयो। भोलि विधान पारित र केन्द्रीय समिति निर्वाचित हुन्छ,’ प्रचण्डले भने, ‘फरक मत समेटियो। एउटा फरक मतलाई सम्मान गर्ने भनियो। अरु फरक मत सबै समेटियो।’
आफ्नो निवासलाई लिएर भइरहेको विवादका विषयमासमेत बोल्दै उनले आफू डेरा सर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।