काठमाडौं– न्यूरोड टिम (एनआरटी)ले सहिद स्मारक ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लमाथि रोमाञ्चक जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एनआरटीले पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गरेको हो। एनआरटीको जितमा मेसुके ओलुमोउले दुई तथा स्टेफन समिर विनोङ एक गोल गरे। फ्रेन्ड्सका जमोल एन्थोनी फ्रान्कोइस र नाथानिल जुडे गार्सियाले एक एक गोल फर्काए।
खेलको चौथो मिनेटमा नै समिरले गोल गर्दै एनआरटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। आन्द्रे थिएरीको फ्रिकिकमा आएको बललाई रोनेल एन्थोनी पउलले राम्ररी क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका थिए।
२०औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे। नविन गुरुङको पासलाई स्टेफन समिरले छोडेको बलललाई मेसुकेको मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्न सफल भए।
४२औं मिनेटमा स्टेफन समिरको प्रहार क्रसबारमा लागेर फर्कदा एनआरटीले थप अग्रता बढाउन सकेन।
७१औं मिनेटमा जमोलको पासमा सुशिल लामाले मिलाइदिएको पासमा यदु सिलवालको प्रहारलाई एनआरटीका गोलक्षक पुजन होनाले पञ्च गर्दै बचाए। ८०औं मिनेटमा सकल रेग्मीले दिएको क्रस बललाई जमोलले हेडमार्फत् गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै एनआरटीलाई ३–१ ले अघि बढाए। उनले कृटिस रत्न छुन्जुको पासमा गोल गरे। इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नाथानिल जुडे गार्सियाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेनन्।
जितसँगै एनआरटी ७ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। समान १० अंक भएपनि गोल अन्तरमा विभागीय टोली त्रिभुवन आर्मी चौथो स्थानमा छ।
पराजित फ्रेन्ड्सको ७ खेलबाट ३ अंक जोडेर रेलिगसन खतरा बढेको छ। फ्रेन्ड्सले ४ खेलमा हार बेहोर्दा ३ खेल बराबरी खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।