काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
माओवादीको जारी ८औं राष्ट्रिय महाधिवेशन अन्तर्गत विभिन्न समूह र आयोगका तर्फबाट उठाइएका प्रश्न र सुझावमा शुक्रबार जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले तीन तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका हुन्।
उनले विचार र बहसलाई विशेष महाधिवेशनमा लिएर पूर्णता दिने बताएका छन्।
'यो सुरुवात हो , पूर्णता हैन। अब दस्तावेजमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय पनि समेट्ने हो', प्रचण्डले भने।
उनले माओवादीका केन्द्रीय सदस्यहरूले अब काठमाडौं बस्न नपाउने बताए। सबै गाउँ गएर जनता सँगसँगै काम गर्ने प्रचण्डको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।