काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूले पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदानको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे उल्लेख गरिएको विषय नै पार्टीको आधिकारिक लाइन भएको बताएका छन्।
२५ वटा समूहका तर्फबाट नेताहरुले गरेको प्रस्तुतिको शुक्रबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले एमसीसीबारे आफ्नो प्रतिवेदनमा लेखिएको विषय नै पार्टीको लाइन रहेको बताए।
एमसीसीबारे प्रतिनवेदनमा खास केही उल्लेख नभएको र यसलाई खारेज गर्ने बारे प्रतिवेदनमा उल्लेख हुनुपर्ने माग समूहगत छलफलमा उठेपछि त्यसको जवाफमा प्रचण्डले भने, 'एमसीसीका विषयमा राजनीतिक दस्तावेजमा जे उल्लेख छ त्यहीँ हुन्छ। थप छलफल गर्नु पर्दैन । पार्टीको लाइन त्यहीँ हो।'
सोमबार बन्दसत्रमा प्रचण्डले पेस गरेको प्रतिवेदनमा एमसीसी संशोधन र सहमतिका साथ अघि बढ्नु पर्ने उल्लेख गरेका थिए।
'हामीले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रश्नमा दृढ अडान लिएर निरन्तर अगाडि बढ्न जरुरी छ। यो नीतिले मात्र हाम्रो पार्टीलाई आमजनताको बीचमा भरोसायोग्य र लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न मद्दत गर्नेछ', प्रतिवेदनमा उल्लेख छ, 'तत्काल एमसीसीको परियोजनालाई आवश्यक परिमार्जन संशोधन र राष्ट्रिय सहमति बनाएर मात्र अगाडि जाने नीति लिनुपर्छ' उनको प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।