काठमाडौं– बुधबार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात पनि भइरहेको छ।
महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हिमपातको पनि सम्भावना छ।
आइतबार भित्रिएको न्यूनचापिय प्रणालीका कारण सोमबारदेखि देशभर नै तापक्रम घट्दो क्रममा थियो। बुधबार काठमाडौं उपत्यकालगायत पहाडी भेग छोएका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
पहाडी तथा उच्च हिमाली भेग छोएका पश्चिम नेपालका भूभागमा अहिलेको प्रणालीले बढी असर पारेको महाशाखाले जनाएको छ। तराईसहितका भूभागमा भने कम असर रहेको छ। तराईका विभिन्न जिल्लामा शीतलहर र हुस्सुको प्रभाव कायमै रहेको जनाइएको छ।
मंसिर/पुसमा पानी पर्नु वातावरण तथा खेती किसानका लागि राम्रो रहेको मौसमविज्ञ मणिरत्न्त शाक्य बताउँछन्। उनी भन्छन्, ‘धान काटेर लगाउने बालीलाई यो वर्षाले राहत दिएको छ। हरक वर्ष हिउँदे सिजनमा पानी नपर्दा किसान चिन्तित हुने गरेका थिए। तर, यस वर्ष समय समयमा पानी परिरहेको छ। यसले हिउँदे बाली बढ्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।