काठमाडौं– रौतहटमा विवाह सकेर घर फर्किरहेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
बीआर ५ पीए ६९५३ को भारतीय नम्बर प्लेटको जीप रौतहटको गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे दुर्घटनामा परेको हो। रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती लिएर गएको जीप विवाह कार्यक्रम सकेर घर फर्किँदै थियो।
गाडीमा सवार ९ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए।
मृतक सबै गढीमाई नगरपालिका–३ निवासी हुन्। मृतक एक जनाको सनाखत हुन सकेको छैन।
गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। उनका अनुसार घाइते ४ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।