काठमाडौं– निर्वाचन आयोगले आउँदो वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ।
आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।
आयोगले एकै चरणमा निर्वाचन हुन सम्भव नभएमा भने पहिलो चरणको निर्वाचन वैशाख १४ र दोस्रो चरणको निर्वाचन वैशाख २२ गते गर्ने प्रस्ताव गरेको छ।
शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीसमक्ष यस्तो प्रस्ताव गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सरकार मुख्य सचिव, गृहसचिव र अर्थ सचिव समेत सहभागी थिए।
आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा उपस्थित थिए।
भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराए।
थपलियाले राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको, मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदानकेन्द्रको व्यवस्था गरिएको, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न पुस १० गतेसम्म निवेदन दिनुपर्ने कार्यक्रम रहेको, पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागू हुने जानकारी गराए।
आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको पनि थपलियाले जानकारी गराए।
आयोगका अनुसार मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट पुस ९ गतेसम्ममा थप ५ लाख ७७ हजार ६६९ मतदाता दर्ता भएका छन्। साथै यस अवधिमा बाहिरी जिल्ला दर्ता कार्यक्रमबाट १९ हजार ५४ मतदाता दर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।