काठमाडौं– काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा ११औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता माघ १ गतेदेखि हुने भएको छ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धम्रमान बज्राचार्यले जनाएका छन्। खुला पुरुष/महिला सिंगल्ससहित पुरुष/महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा समावेश गरिएको छ।
खुला पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रो हुने दुईले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
अखिल नेपाल टेबलटेनिस संघको वार्षिक क्यालेन्डर अनुसार हुन लागेको प्रतियोगितामा करिब ७ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। माघ ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।