काठमाडौं– बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध खेलमा स्पाइकद्धय शान्ति थारु र कामना विष्टले महिला राष्ट्रिय भलिबल टोलीमा ‘डेब्यू’ गरेकी छन्।
श्रीलंकाविरुद्ध ३–२ को सेटमा जित निकालेको खेलबाट कामना र शान्तिले राष्ट्रिय टोलीमा डेब्यू गरेकी हुन्।
कामनाले सुरुवाती सेटमै तथा शान्तिले कामनाको स्थान लिँदै राष्ट्रिय टोलीमा डेब्यू गरेकी हुन्। घरेलु भलिबलमा कामनाले विभागीय नेपाल पुलिस क्लबबाट तथा शान्तिले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका उनीहरूले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ब्लकर शान्तिको प्रभावशाली प्रदर्शनसँगै प्रतियोगितामा सुखद् सुरुआत सम्भव भएको प्रतिक्रिया दिएका छन्।
‘सुनिता खड्का र शान्ति थारुको प्रदर्शनले उत्साह जगायो, उनीहरुकै प्रदर्शनबाट हामी खेलमा फर्कँदै सुखद नतिजा निकाल्न सक्यौं,’ खेलपछि उनले भने।
श्रीलंकाविरुद्धको खेलमा नेपालले सुरुआती दुई सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै पूनरागम गरेको थियोे। नेपालले पहिलो र दोस्रो सेट क्रमश १९–२५ र २१–२५ ले गुमाएको थियो। त्यसपछिको तीनै सेट नेपालले २५–१५, २५–१९ र १५–१३ ले जित्न सफल भएको थियो।
'साविक विजेता नेपालको लागि खेलाडीको मनोबल उच्च राख्न पनि श्रीलंकाविरुद्धको खेल जित्नै पर्ने दबाब थियो,' प्रशिक्षक भट्टले भने, किनभने, पहिलो खेलमा सफलता हात पारे खेलाडीको मनोबल उच्च हुन्छ। तर, म टोलीको सर्भिस, स्पाइक र रिसिभबाट म सन्तुष्ट छैन।
श्रीलंकालाई १३औं दक्षिण एसियाली खेलकुदमा पनि नेपालले हराएको थियोे। अब नेपाली महिला टोलीले २४ डिसेम्बरमा माल्दिभ्ससँग खेल्नेछ। २५ मा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।