काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन्। विवाद निम्तिरहेको बेलामा सन्दीपले कप्तान नियुक्त गरिएकोमा आइतबार सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका हुन्।
‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।’
गत बुधबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि व्यक्त गरेका ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो। साथै दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद पनि खोसेको थियो। उपकप्तानको जिम्मेवारी भने कसलाई पनि दिइएको छैन।
ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिना सम्झौताबापत प्राप्त हुने तलब नदिने पनि क्यानले निर्णय गरेको छ।
क्यानले मल्ललाई राष्ट्रिय टोलीको कप्तान र दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएपछि अन्य खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सांकेतिक विरोध जनाइरहेका छन्।
क्यानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिलाई फेसबुकमा स्टोरी बनाउँदै रोहित पौडेल, कुशल भुर्तेललगायत खेलाडीले त्यसमाथि लेखेका थिए, ‘आई एम डन।’ त्यसको अर्थ थियो ‘मलाई पुग्यो।’
क्यानको कारबाही, खेलाडीको विरोधपछि ज्ञानेन्द्र र दीपेन्द्रसहितका खेलाडीले अब के गर्छन् भन्ने प्रश्न उठिरहेको छ। उनीहरूले राष्ट्रिय टिम नै छाड्ने आशंका पनि गरिएको छ।
क्यानले पोखरामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय बुधबार नै गरेको थियो। तर, सन्दीपले टिममा सबैका लागि ढोका खुला रहने बताएका छन्। ‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछ। नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रूपमा राख्ने,’ उनले लेखेका छन्,‘यो हुनको लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टिममा ढोका सबैका लागि खुला रहनेछ।’
बाहिर सामान्य देखिए पनि ज्ञानेन्द्रलगायत सिनियर खेलाडी र सन्दीपबीच सम्बन्ध राम्रो नरहेको बताइन्छ। खेलाडीले अनुशासन उल्लंघन गरेको विषयमा नेपाल क्यानले गठन गरेको छानबिन समितिका संयोजक प्रशान्तविक्रम मल्लले नयाँ पुस्ताका खेलाडीलाई समेत मिडियामा लगेर भड्काउने काम गरेका कारण ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाइएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।