काठमाडौं- काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन्।
सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। उक्त सूचना प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ।
घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ। उनलाई घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।