काठमाडौं– नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्माले रामबहादुर थापा ‘बादल’ लगायत नेताहरु एमालेमा प्रवेश गर्नु माओवादी आन्दोलनप्रतिको धोका भएको टिप्पणी गरेकी छिन्।
नेपाल लाइभसँगको विशेष कुराकानीमा पूर्वमन्त्री समेत रहेकी शर्माले माओवादीको विरासतलाई छोडेर एमालेमा जानु घातक भएको बताएकी हुन्।
‘बादलजी पार्टीले नेतृत्व गरेर सरकारमा पठाएको मान्छे हो। माओवादी विरासत र लिगेसी छोडेर जुन ढंगले एमालेमा जानुभयो। त्यो हामी सबैप्रति घात हो। हामी सबैप्रति धोका भन्ने ठान्छु’ शर्माले भनिन् ‘प्रचण्डले कसैलाई पाखा लगाउनु भएको छैन। हरेक कुराको भूमिकामा आफ्नो पनि कुरा हुन्छ। मुख्य कुरा मान्छेको अन्तरनिहीत कुरा हो। राजनीतिमा थोरै असहज हुँदा वित्तिकै कुदिहाल्नुपर्छ भन्ने छैन।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमाओवादीहरु एक ठाउँमा ल्याउन लागिपरेको पनि शर्माले बताइन। ‘पूर्वमाओवादीहरु एक ठाउँमा आउँनुपर्छ भनेर प्रचण्ड लागि रहनु भएको छ। ती शक्तिहरुसँग सके पार्टी एकता नभए संयुक्त मोर्चा गरेर अगाडि बढ्नुपर्छ भनेर निरन्तर छलफलमा हुनुहुन्छ’ शर्माले भनिन्, ‘आफ्ना सहकर्मीहरुलाई हटाउनै खोज्ने भए, ल्याउन किन खोज्नुहुन्थ्यो र?’
प्रचण्डले माओवादीले उठाएका मुद्दालाई बलियो बनाउन सबैलाई एक ठाउँमा ल्याउन खोजेको शर्माले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।