काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निरंकुश प्रवृत्तिले लोकतन्तत्रलाई मन नपराउने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा उनले निरंकुश प्रवृत्ति सधैं लोकतन्त्रको विपक्षमा हुने बताए।
अध्यक्ष नेपालले आफूहरुले सबै खालका अन्याय, अत्याचार र शोषण, दमन र निरंकुशताबाट मुक्ति दिलाउन चाहेको बताए।
उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको बताए। अध्यक्ष नेपालले देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए।
नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ। नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ। देशलाई सबै खालका असहमानताहरुबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ। हामी हाम्रो देश नेपालाई सुन्दर बनाउन चाहन्छौँ। नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ’ उनले भने।
अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। ‘कृषि क्षेत्रमा लाग्ने कुराले इज्जत घट्ने होइन, बढ्छ। यसले कृषि उद्योगको रुपमा अघि बढाउँछ। यी सबै उत्पादनलाई बजारसँग जोड्नका लागि बाटाघाटाको आवश्यक छ। भौतिक पूर्वाधारको विकासमा राज्यले दिनुपर्छ’ उनले भने।
अध्यक्ष नेपालले नेपालमा प्रति शेक्टर प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।