काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ। महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो।
समितिले बिहीबार महासंघ अध्यक्ष शेखर गोल्छालाई बुझाएको मस्यौदामा अध्यक्षमा प्रत्यक्ष मतदान गरी वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव समावेश गरिएको छ। यस्तै समितिले महासंघ अध्यक्षको कार्यकालसमेत तीन वर्षबाट घटाएर दुई वर्षमा झार्नुपर्ने सुझाव दिएको छ।
समितिले बुझाएको मस्यौदामा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्ने व्यवस्था राखिएको मस्यौदा समितिका संयोजक कुशकुमार जोशीले बताए।
ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्तिले भने प्रत्यक्ष निर्वाचन लड्नुपर्ने भएको छ । महासंघको कार्यसमिति सदस्य भएको अवधिका आधारमा उपाध्यक्षको वरिष्ठताक्रम तय हुने विधानमा समावेश गरिएको छ।
यस्तै, महासंघको उपाध्यक्षमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको संयोजक जोशीले बताए। महिला उपाध्यक्ष पदका लागि कार्यसमिति सदस्यले मतदान गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै महासंघका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गरिएको छ।
मस्यौदा तयार समितिले तीन वर्षे कार्यकाल छोट्याउँदै दुई वर्षे राख्न सुझाव दिएको छ। यस्तै महासंघको उपाध्यक्ष बन्न कार्यसमितिमा छ वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था राखिएको छ।
यसअघि दुई कार्यकाल कार्यसमिति सदस्य भएको व्यक्ति पनि उपाध्यक्ष हुन पाउने व्यवस्था थियो। यद्यपि कार्यसमितिको तीन वर्षको कार्यकाल रहेको अवस्थामा दुई कार्यकाल कार्यसमिति सदस्य (छ वर्ष कार्यसमिति सदस्य) भएको व्यक्तिले भने उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पाउनेछ।
समितिले महासंघ नेतृत्वको निर्वाचन प्रदेशहरुमा गर्न सुझाव दिएको छ । केन्द्रमा निर्वाचन गर्दा धेरै खर्च भएको गुनासो आएको भन्दै सो समितिले केन्द्र र प्रदेशमा एकैपटक चुनाव गर्न सुझाव दिएको हो।
यस्तै महासंघको निर्वाचन र महाधिवेशनसमेत फरकफरक समयमा गर्न सुझाव दिइएको छ। समितिले दिएको सो मस्यौदा महासंघ कार्यसमितिले निर्णय गरी साधारणसभाबाट अनुमोदन गराउनुपर्छ।
समितिले ११ महिना लगाएर मस्यौदा तयार पारेको जनाएको छ। समितिको संयोजकमा कुशकुमार जोशी, सहसंयोजकमा पशुपति मुरारका र सदस्यमा किशोरकुमार प्रधान, डिबी थापा, सुनिलगोपाल श्रेष्ठ र सरोज श्रेष्ठ तथा कानुनविद्का रुपमा अधिवक्ता रुद्र शर्मा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।