काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना आजै गरिने भएको छ। कांग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले दिएको जानकारी अनुसार सहमहामन्त्रीको गणना पार्टी कार्यालय सानेपामा गरिने छ।
साढे ४ बजेपछि गणना सुरु गर्ने तयारी रहेको जनाइएको छ। पोखरेलका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुनेछ।
सहमहामन्त्रीमा क्लस्टर अनुसार ८ जना निर्वाचित हुने विधानमा व्यवस्था छ। जस अनुसार महिला-१, आदिवासी जनजाती-१, दलित-१, मधेसी-१, खस आर्य-१, थारु-१, मुस्लिम-१ र पिछडिएको क्षेत्रबाट १ जना निर्वाचित हुने छन्।
महिला १ सिटका लागि कमला पन्त र महालक्ष्मि उपाध्याय, दलित १ सिटका लागि गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन्।
त्यस्तै आदिवासी जनजाति १ सिटका लागि विकाश लामा र भीष्मराज आङदेम्बे उम्मेदवार रहँदा खस आर्य अन्तर्गत १ सिटका लागि किशोरसिंह राठौर र देवराज चालिसे उम्मेदवार रहेका छन्।
मधेसी अन्तर्गत १ सिटका लागि महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव उम्मेदवार रहँदा मुस्लिम एक सिटका लागि फरमुल्लाह मंसुर र शेख वकील रहेका छन्। त्यस्तै थारु १ सिटका लागि उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार रहेका छन्।
पिछडिएको क्षेत्रबाट चेतनराज बजाल, जीवन बहादुर शाही र बद्री पाण्डे रहेका छन्।
सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्।
आजै सम्पन्न महामन्त्रीको मत गणनामा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। यसअघि उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।