काठमाडौं– संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरुविरुद्धको बहस सकिएको छ। ४ जना सरकारी वकिलले इच्छाराजसहितका प्रतिवादीकाविरुद्ध बहस गरेका थिए।
प्रेमराज पौडेल, सुदिप डंगोल, भीमप्रसाद भुर्तेल र लक्ष्मण घिमिरेले इच्छाराजसहितका प्रतिवादीविरुद्ध बहस गरेका थिए। संगठित ठगीको आरोपमा उनीहरुलाई पुर्पक्षमा पाठाउनुपर्ने माग सरकारी वकिलहरुको थियो।
त्यस्तै, प्रतिवादी इच्छाराजसहितकातर्फबाट १५ जनाले वकिलहरुले बहस गर्दैछन्। उनीहरुले प्रतिवादीकातर्फबाट बिहीबारदेखि बहस सुरु गरेका छन्।
थुनछेक बहस सकिएपछि उनीहरुलाई पुर्पक्षमा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा हुने भन्ने आदेश अदालतले दिनेछ।
इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा इच्छाराजले आफ्ना विभिन्न कम्पनीका नाममा बिना धितो ऋण लिएर नतिरेपछि सिभिल सहकारीका निक्षेपकर्ताको रकम फसेको पाइएको थियो।
सिभिल सहकारीबाट बिना धितो अर्बौं ऋण लिएर सिभिल होम्समा इच्छाराजले लगानी गरेको र सहकारीको रकम नर्तिदा निक्षेपकर्ताको रकम फसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
हालसम्म १५ सय ३ जनाको मात्रै ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ इच्छाराजलगायतको समूहले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
ठगी भएको रकम बराबरको बिगो माग दाबी गर्दै इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले मंसिर १७ गते अदालतमा मुद्दा दर्ता गरेको थियो।
बिगोबापत ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।
ठगीसँगै ७५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई ठगी गरेको पुष्टि हुन आएकाले मुलुकी अपराध संहिताको दफा २४९ को उदफा (३) को (ग) बमोजिमको सजाय र संगठित ठगी भएको पाइएकाले संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसूरमा सजाय मागदाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ।
इच्छाराजबाट ठगिनेको सूचीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालसम्मको नाम उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।