झापा– मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए। कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको प्रहरीले छ।
सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रवक्ता पाठकले बताए।
त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय (नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखेको पाइएको उनले बताए।
विशेष सूचनाका आधारमा तमाङलाई पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
उनले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयलाई १५ सयदेखि ५ हजारसम्म लिने गरेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।