काठमाडौं– करिब सात वर्षअगाडि, सन् २०१४ मा नेपाल टी–२० विश्वकपमा सहभागी हुँदा सारा नेपालीको छाती गर्वले फुलेको थियो। हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले पराजित गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट जानकारहरूको तारिफ सुन्दा लाग्थ्यो, नेपाल सन् २००० मा टेस्ट मान्यता पाएको बंगलादेशको बाटोतिर पाइला राख्दै छ।
तर, सात वर्षपछि हेर्दा नेपालले बाटो बिराइसकेको छ। बरु नेपाली क्रिकेट सन् २०१६ को बाटोमा हिँड्ने आशंका उब्जिन थालेको छ। विश्वकप खेलेको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्दा नेपाली क्रिकेट अस्तव्यस्त भएको थियो। यसको प्रमुख कारण थियो, ‘इगो’ र मैमत्तापन।
क्यान र खेलाडीबीच चलिरहेको इगोको लडाइँ हालसालै सृजना भएको होइन। बंगलादेशको चटगाउँस्थित जोहुर अहमद चौधरी रंगशालाबाट विश्वकप खेलेर खेलाडी नेपाल फर्किएसँगै सुरु भएको यो द्वन्द्वले फेरि उग्ररूप लिने छाँट देखाएको छ।
गत असोजमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता र प्रदर्शनलाई आधार बनाएर १८ खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको थियो। त्यसबाट सुरु भएको विवादले क्यानका पदाधिकारी र खेलाडीबीच पानी बाराबरको स्थितिमात्रै पैदा गरेको छैन, नेपालले अहिलेसम्म हासिल गरेको उपलब्धि पनि गुम्ने खतरा बढाएको छ।
नेपाली क्रिकेट टोली अर्को महिना टी–२० विश्वकप छनोट यात्रामा जाँदैछ। त्यसपछि, नेपालको अहिलेसम्मको ठूलो उपलब्धि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन कस्सिएर लाग्नुपर्ने छ। तर, जुँगाको लडाइँले ज्ञानेन्द्र मल्लबाट कप्तानी र दीपेन्द्रसिंह ऐरीबाट उपकप्तानी मात्रै खोसिएन, चार खेलाडी (उनीहरुसहित सोमकाल कामी र कमलसिंह ऐरी)लाई देखाएर अभिभावकीय संस्थासँग गुनासो गर्नै नसक्ने गरी सबै खेलाडी तर्साउन खोजिएको छ।
क्यानको बुधबार बसेको बोर्ड बैठकले ‘अनुशासन उल्लघंन गर्दै सञ्चारमाध्यममा बोलेको’ आरोपमा मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गरेपछि नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ। साथै सन् २०२२ को सुरुको ६ महिना चारै खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने निर्णय पनि गरेको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ मान्ने हो भने क्रिकेटभित्र हुने हस्तक्षेप र गुटबन्दी अन्त्यका लागि खेलाडीमाथि कारबाही गरिएको हो। उनी भन्छन्, ‘कप्तानको रूपमा ज्ञानेन्द्र मल्लले खेलाडीहरूलाई एकजुट बनाउन सक्नु भएन। टिममा गुट र उपगुट धेरै देखिए। गुटबाजी गर्दैगर्दा क्रिकेट विकासमा नराम्रो प्रभाव परेका कारण कारबाही गरिएको हो।’
चन्द यस गुटबन्दीको प्रमुख कारण सन्यास लिइसकेका पूर्वकप्तान पारस खड्कालाई मान्छन्। पारस र निवर्तमान कप्तान ज्ञानेन्द्रलगायतले अनेक बहानामा खेलाडीलाई क्यानविरुद्ध उक्साउने र पदाधिकारीको मुखमा ‘कालो पोत्ने’ नियत रचेकाले तत्काललाई खेलमा ध्यान फर्काउन चार खेलाडीमाथि कारबाही गरिएको उनको स्पष्टोक्ति छ।
उनले खेलाडीको गुट र उपगुटको विषय उठाइरहँदा यो प्रश्न उनीमाथि पनि तेर्सिन्छ– के क्यानका पदाधिकारीभित्र चाँहि गुट र उपगुट छैन? उनी यसको उत्तर बिल्कुलै दिन चाँहदैनन्। किनभने, क्रिकेट विकासको लागि भन्दै क्यान अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेविरुद्ध एक भएर चुनाव लडेको र नेतृत्वमा आइपुगेको चन्द समूह नै गुट चलाउँदै आएको थियो र अहिले त्यही समूह फेरि अनेक गुटमा विभाजित भइसकेको छ। निर्वाचनमा उनैलाई साथ दिएका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिइसकेका छन्।
आईसीसीबाट क्यानको निलम्बन फुकुवा गराउन प्रमुख भूमिका खेलेका प्याकुरेलले आफ्नो राजीनामाको स्पष्ट कारण नखुलाए पनि यसको पछाडि क्यानभित्रको गुट र उपगुट नै भएको संकेत गरेका थिए। क्यानमा हाल चार गुट सक्रिय छन्। अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललगायत केही पदाधिकारी एक गुट चलाइरहेका छन्। राजीनामा दिनुअघि प्याकुरेल र श्रेष्ठको भिन्दै गुट थियो। यस्तै, अर्को गुट चलाइरहेका छन्, कोषाध्यक्ष रोशन सिंह। सिंह र चन्दको पानी बाराबर भएको नै तीन महिना पुगिसक्यो। उनीहरु न एकसाथ मिडियामा देखिन्छन्, न त सार्वजनिक कार्यक्रममै।
खेलाडीको पक्षमा बोल्ने छुम्बी लामा चौँथो गुट चलाइरहेका छन्। यही गुटमा छन्, पारस र ज्ञानेन्द्र। क्रिकेटको व्यावसायिकतामा पनि सँगै रहेका यी तीन जनालाई चन्द फुटाउन चाहन्छन्। तर, क्यानको जिम्मेवार पदमा बसेर ‘रिमोट’ चन्दले चलाइरहेको देखिए पनि वास्तविकता फरक छ। चन्दलाई चलाउने असली ‘रिमोट’ भने कुनै बेला पारसको 'जिग्री' भनेर चिनिने अमिर अख्तर हुन्।
सुरुवातमा ईपीएल र एनपीएललाईमाथि उकास्न सहयोग गरेका पारससँग अख्तरको सम्बन्ध करिब तीन वर्षअगाडि नै बिग्रिएको थियो। ईपीएलको व्यवस्थापनलाई लिएर पारसले बारम्बार मिडियामा अख्तरमाथि प्रश्न उठाएका थिए। ज्ञानेन्द्रलगायतका केही खेलाडीले पारसलाई नै साथ दिएपछि अख्तर बिच्किए।
गत वैशाखमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज आयोजनाको अवसर विनाटेण्डर नै अख्तरलाई दिने क्यानको निर्णय यो संस्थाभित्र ‘रोटी सेक्नेहरू’लाई बुझ्न पर्याप्त हुन्छ। यो निर्णयले विवादको आगोमा घ्यु थपेको थियो। क्यान सदस्य छुम्बी उक्त निर्णयविरुद्ध गए। उनलाई बाहिरबाट पारसले साथ दिए। पारसले उक्त प्रतियोगिता त खेलेनन् नै, प्रतियोगिताभरि टीयू क्रिकेट मैदान पनि गएनन्।
उक्त प्रतियोगितामा तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले मौका दिएका दुई प्रतिभा कुशल भुर्तेल र आशिफ शेख चम्किए। उनीहरुकै लगभग एकल प्रदर्शनमा नेपालले सिरिज जितेपछि अख्तरले खुलमखुला भन्दिए– अब क्रिकेटमा पारस र ज्ञानेन्द्रको राज अन्त्य हुने भयो!
छेउमै रहेका ज्ञानेन्द्रको मन अमिलो भयो। हुनु पनि स्वभाविक थियो। उनले अब अख्तरले आयोजना गरेको प्रतियोगिता नखेल्ने निधो गरे। उनलाई पारसले पनि साथ दिए। क्यानको हरेक निर्णयमा अख्तरको खुलमखुला हस्तक्षेप बढ्यो। त्यसपछि क्यान निलम्बन हुँदा ‘म नै संघ हुँ’ भन्ने भाव देखाउने पारसको ‘घमण्ड’ पनि त्यहीँ सकियो।
नेपाली क्रिकेटमा ‘पारस प्राधिकार’ समाप्त पार्न अख्तर र क्यान अध्यक्ष चन्दले चालेको यो पहिलो चाल भने थिएन। उनीहरूले यो समूलाई तह लगाउन आफू अनुकूल प्रशिक्षक ल्याउने प्रयास पनि गरे।
भारतीय राजदूतावाससँग राम्रो सम्बन्ध भएका अख्तरकै योजना बमोजिम अध्यक्ष चन्द भारतीय प्रशिक्षक ल्याउन चाहन्थे। उनैको योजनामा क्यानले क्षमता नै नभएका उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्तिसमेत दियो। पारसको नजिक मानिने पबुदु दासानायेकेलाई भने त्यतिबेला विगतमा गरेको गल्तीको स्पष्टीकारण दिन लगाएर आईसीसीका प्रतिनिधिसमक्ष बेइज्जत गरिएको थियो।
क्यानका पदाधिकारीले आफू अनुकूल चलाउन खोजेपछि पटवालको कार्यकाल सम्झनलायक बनेन। त्यसपछि आएका वाट्मोरले बीचैमा नेपाली टिम छाडेर भारत गए। पछिल्लो समय क्यान पदाधिकारी र अख्तर केही खेलाडीको सेखी झार्न भारतीय प्रशिक्षक मोन्टी देसाई ल्याउन चाहन्थे। उनका लागि २० हजार डलरसम्म खर्च गर्नसमेत राजी थिए। तर, आईपीएलको बेला लामो समय बिदा मागेका कारण आईसीसी प्रतिनिधि सहमत हुन सकेनन्।
क्यान पदाधिकारीले बाध्यताबस फेरि उनै पुबुदुलाई प्रशिक्षकको जिम्मेवारी दिनुपर्ने भयो। तर, क्यान र अख्तरलाई कतै सन् २०१६ नै त फर्किने होइन भन्ने डर थियो। त्यसका लागि पनि उनीहरु ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउन चाहन्थे। नत्र चार खेलाडीसँग वार्ता गरेर समस्या समाधान गर्न सकिन्थ्यो। सम्झौताका मापदण्डमा राखिएका बुँदाका स्पष्ट व्याख्या गरेर खेलाडीलाई चित्त बुझाउन सकिन्थ्यो। वास्तवमा भन्ने हो भने नेपाली क्रिकेटमा अहिले पहिलेको जस्तो चरम आर्थिक संकट छैन। खेलाडीहरुलाई मात्र ‘म्याच फि’मा पनि देशको लागि खेल्न सक्ने अवस्था छ। केही हदसम्म व्यवसायिक भइसकेको नेपाली क्रिकेटको सफलता नै हो यो पनि। अनुशासनको ‘डन्डा’ चलाएर प्रमुख खेलाडीलाई दबाब सिर्जना गर्दा नेपालले खेल्ने अबको प्रतियोगितामा प्रदर्शन प्रभावित हुने जोखिम हुने थिएन।
टी–२० विश्वकप छनोट नजिकिँदै जाँदा खेलाडी पनि क्यानसँग मुठभेडमा उत्रिनेभन्दा वार्ता नै गरेर अगाडि बढ्न चाहन्थे। उनीहरूले क्यानलाई त्यसैअनुरूप ११ बुँदे पत्र पनि बुझाएका थिए। तर, उक्त पत्रमा ‘केही नरहेको’ र सबै खेलाडीको माग सामान्य रहेको प्रचार गर्दै हिँडेका कार्यवाहक सचिव मल्लले एकाएक बोली फेर्दै ‘ज्ञानेन्द्रले शक्तिको प्रयोग गरेर खेलाडीलाई जबर्जस्ती हस्ताक्षर गराएको’ र ‘क्यानलाई धम्की दिएको’ मिडियाबाजी गरे।
क्यानका केही पदाधिकारी खेलाडीले राजनीति गरेको आरोप लगाउँछन्। तर, तिनै पदाधिकारी राजनीतिको सिँढी चढेर यहाँ आइपुगेका छन्। उनीहरूको गन्तव्य क्रिकेट विकास नभएर राजनीतिक भविष्य सुधार्नु हो। क्यान अध्यक्षमा निर्वाचित हुँदा चन्द बैतडी कांग्रेसको उपसभापति थिए। अघिल्लो महिना भएको जिल्ला अधिवेशनबाट सभापति भएका छन्। उनको धेरैजसो समय जिल्लाको राजनीतिमा नै बित्छ। उनै चन्दले क्रिकेट बुझेको जस्तो गर्ने तर, काम भने खेल भावनाविपरीत गर्ने मल्ललाई आफ्नो गुटबाट फुत्त ल्याएर कार्यवाहक सचिव नियुक्त गर्दा थप समस्या उत्पन्न भएको हो।
मल्लले यदी क्रिकेट नै बुझेको भए तथा कसैको प्रभाव र दबाबमा नपरेको भए खेलाडीको तलबको कुरा उठेको यो पहिलो घटना होइन भन्ने पनि बुझ्नु पर्ने थियो। यसअघि पनि पटक–पटक यही विषयमा कुरा उठ्दै आइरहेको थियो। तर, यसपटक खेलाडीलाई त्यति ‘कठोर’ सजाय दिनु उपयुक्त थिएन।
खेलाडीको तलबको विषय नेपालमा मात्र पेचिलो छैन, विश्वव्यापी रूपमा नै उठ्ने गरेको छ। तर, ज्ञानेन्द्रलगायतका खेलाडीलाई कारबाही नै गर्ने नियत बोकेका सचिव मल्लले खेलाडीहरूसँग बदला लिने अख्तरको चाहनालाई पनि पूरा गरिदिए। यो कदमले नेपाली क्रिकेटमा ठूलो धक्का लाग्ने छ, अन्तर्राष्ट्रिय छविसमेत धमिलो बनाउने छ।
लामो समयको निलम्बन, त्यसपछि पुनर्बहाली हुनासाथ कोभिड महामारीको प्रकोप, क्यानको फितलो व्यवस्थापन र सबै क्षेत्रमा अनुशासनको कमीबीच गुज्रिएको नेपाली क्रिकेटमा सुधार गर्नुपर्ने बेला गरिएको यो निर्णय सामान्य छैन। यसले अल्पकालीन रूपमा अध्यक्ष चन्द, सचिव मल्ल र अख्तरलाई त फाइदा पुग्ला, तर दीर्घकालीन रुपमा नेपाली क्रिकेटलाई पछाडि धकेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।