काठमाडौं- चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनामा नेपालमा भित्रिने रेमिट्यान्स ७.५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार मुलुकको चार महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जानकारी दिएको हो।
समीक्षा अवधिमा तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रकम रेमिट्यान्सको रुपमा भित्रिएको छ, जुन गत आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले न्यून हो। गत आवको सोही अवधिमा यस्तो रकम ११.२ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आइ दुई अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम ६.४ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भइ ९६ हजार ३८२ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भइ ५९ हजार ७२३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आइ ३४५ अर्ब ६५ रुपैयाँ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।