काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको बताएका छन्।महिनौंदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप संकलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘नवउत्थान सम्मेलन’लाई सम्बोधन गर्दै उनले भने, ‘वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोुस्, राष्ट्र बैंकमा प्रतिनिधि पनि हुनुहुन्छ, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौं।’
पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तिव्र र दिगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासंघले उक्त बहस चलाएको हो। सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासंघले जनाएको छ।
अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठूलो प्रभाव पर्नसक्ने अवस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। स्रोत र श्रमसमेतलाई ध्यानमा राखेर उनले अर्थतन्त्रलाई एउटा लयमा पु¥याउनुपर्ने उनले बताए। आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिस्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा उनले जोड दिए।
व्यापार घाटाको समस्या कायमै रहेको उनले बताए। बैंक÷वित्तीय संस्थाले चालु चार महिनामै वार्षिक लक्ष्यको ४९ प्रतिशत लगानी (३८७ अर्ब कर्जा विस्तार) गरिसकेको जानकारी दिए।
मुलुकमा अहिले देखिएको तरलताको समस्याले व्याज वृद्धि हुने खतरा कायमै रहेको उल्लेख गर्दै उनले बजारमा छाड्ने कि नियमन गर्ने भन्ने कुरा गम्भीर रहेको बताए। ‘यसमा महासंघको धारणा के हो ? हामीलाई के सुझाव दिनुहुन्छ,’ उनले भने, ‘त्यसको प्रतिक्षामा छौँ।’
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले लगानी वृद्धि गर्ने र व्यवसायलाई आकर्षित हुने गरी राज्यको नीति बनाउनुपर्नेमा जोड दिएका थिए। उनले विस्तारै अर्थतन्त्रमा केही सकारात्मक प्रभाव सुरु भएपनि कोभिड–१९ को त्रास कायमै रहेकाले आर्थिक क्षेत्रमा सरकारको आवश्यक सहयोगको खाँचो रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।