काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारका बारेमा बोलेर यसका विषयमा नयाँ थेसिस बनाएको टिप्पणी गरेका छन्।
उनले प्रचण्डले लेनिनभन्दा पनि बाठो बनेर सेयर बजारका बारेमा बोलेको टिप्पणी गरे।
एमालेमा मनोनित केन्द्रीय सदस्यहरूका लागि बुधबार आयोजित शपथग्रहण कार्यक्रममा ओलीले भने, ‘लेनिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले साम्रज्यवादको विकसित रुप सेयर बजार हो भने।’
ओलीले प्रचण्डको उक्त अभिव्यक्तिका कारण सेयर बजार धराशायी भएको बताए। ओलीले प्रचण्डलाई सेयर बजारले जनताको जीवनमा कति असर हुन्छ? लगानीकर्ताको अवस्था कस्तो हुन्छ? तिनीहरुको आर्थिक स्थिति कस्तो हुन्छ? केही पनि मतलब नगरी बोलेको ओलीको आरोप छ।
प्रचण्डलाई अर्थतन्त्रको केही पनि मतलब नभएको ओलीको भनाइ छ। ओलीले प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा नदिएका कारण यस्तो बोलेको? भनेर प्रश्न गरेका छन्।
‘प्रचण्डले सेयर लगानीकर्तालाई चन्दा नदिए ध्वस्त बनाइदिन्छु भनेर भाषण ठोक्दिए। नरहे बाँस, नरहे बाँसुरी’, ओलीले थपे, ‘हामीले त्यस्तो गर्थ्यौं भने सडक तात्थ्यो। माइतीघरले पुग्दैन थियो। सञ्चारमाध्यमा आगो बल्थ्यो। प्रचण्डले बोल्दा सब चुपचाप भए। कोही बोल्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।