पाल्पा– भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले किसानलाई ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो।
व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताए। लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुई वटा पुर्याउनुपर्ने प्रावधान नगरपालिकाको छ।
किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए। नगरपालिका, ग्रामीण आर्थिक विकास संघ र हेफर परियोजनाको सहयोग अनुदान वितरण गरिएको हो।
चालु आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाभित्रका १ सय लैनो भैंसी थप गर्ने योजना छ। सोहीअनुसार हालसम्म २९ लाख रुपैयाँ अनुदान वितरण गरी ६९ लैनो भैंसी थपिएको छ।
तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिकरूपमा दूध उत्पादन गर्न भैंसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।