काठमाडौं- महजोडीको रुपमा परिचित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको 'ब्राण्ड एम्बेसडर' नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यका साथै कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे।
कम्पनीका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेकी थिइन्।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यङ्ग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको 'ब्राण्ड एम्बेसडर' नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए। उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आमजनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको उल्लेख गरे।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमजस्तो संस्थाको 'ब्राण्ड एम्बेसडर' हुन पाएकोमा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताएका थिए।
यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबर्द्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरु गर्ने छन्। हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।