काठमाडौं- नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन्। संघको गत शुक्रबार सम्पन्न १६औं वार्षिक साधारण सभाले सिटी एक्सप्रेस मनि ट्रान्सफरका टण्डनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेसनल प्रालि), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रालि), ईन्द्रप्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रालि) तथा सचिवमा दीपेन्द्र खनाल (ईजीलिङ्क रेमिट्यान्स प्रालि) चयन भएका छन्। यसैगरी सदस्यतर्फ प्रविण अधिकारी (क्यास वे मनिट्रान्सफर प्रालि), दिवाकर पौडेल (जीएमई रेमिट प्रालि), सञ्जिव पाठक (एटीटी रेमिट प्रालि) चयन भएका छन्।
संघको विधानत अध्यक्षबाट मनोनीत हुने दुई जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि) र रामेश्वर सापकोटा (प्रभु मनि ट्रान्सफर प्रालि) मनोनीत भएका छन्।
यसअघि उद्घाटनसत्रमा संघका अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिएका थिए। आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।