काठमाडौं– १०औं महाधिवेशनबाट 'निर्वाचित' नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले निर्वाचित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्यो।
केन्द्रीय सदस्य निरज आचार्यलाई जाजरकोटको सह–इञ्चार्जका जिम्मेवारी तोकिएको बैठकमा उप–महासचिव विष्णु रिमालले निर्णय पेस गरे।
आचार्यसहितका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडको सूची बैठकमा रिमालले पेश गरेका थिए। लगत्तै उनले त्यसमा आफ्नो असहमति रहेको भन्दै लिखित रुपमा नै जानकारी गराए।
आचार्य नवौं महाधिवेशनमा पनि केन्द्रीय सदस्य थिए। अहिले पोलिटब्यूरो सदस्य वा अन्य जिम्मेवारी पार्टीले दिन्छ भन्नेमा उनी विश्वस्त थिए। तर, त्यो हुन सकेन्।
यस्तै, नवौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित झपट रावल र प्रकाश शाह पनि केन्द्रीय सदस्यमा नै सीमित रहनुपर्यो। उनीहरुले पनि न पोलिटब्यूरोको जिम्मेवारी पाए न अन्य कुनै भूमिका नै पाए। त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली समूहमै रहेका कतिपय नेताहरु, जो स्थायी कमिटी र पोलिटब्यूरोदेखि अन्य जिम्मेवारीको आकांक्षी थिए, उनीहरु पनि त्यसमा समेटिन सकेनन्।
ओलीनिकट नेताहरुको संख्या धेरै भएका कारणले पनि उनीहरु सबै समेटिन नसकेका होलान्। तर, एमालेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले गरेको मनोनितदेखि स्थायी कमिटी र पोलिटब्यूरो गठन हुँदै जिम्मेवारी बाँडफाँडमा भने विगतमा पार्टीभित्र अन्तरसंघर्ष गरेका नेताहरुलाई भूमिकाविहीन जस्तै बनाइएको छ।
पदाधिकारीमा रहेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई बाहेकका अधिकांश नेताहरु भने भूमिकाविहीन जस्तै बनेका छन्।
उनीहरु पोलिटब्यूरोमा आउने योग्यता हुँदा पनि समेटिन सकेनन् भने अन्य जिम्मेवारी दिने विषयमा पनि उनीहरु बाहिरिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले मनोनित, स्थायी कमिटी र पोलिटब्यूरोमा छनोट गरिएका मानिसहरुको विषयमा नै नेताहरुले असन्तुष्टि जनाएका छन्।
‘हामीले पार्टीलाई विधि, नीतिअनुसार अगाडि बढाउनुपर्छ भनिरहँदा आज त्यो हुन सकेन्,’ एक पदाधिकारी भन्छन्, ‘छलफल नै नगरेर एकाएक अध्यक्षले नाम प्रस्तुत गर्नुभयो। यो प्रक्रियागत भएन भन्ने हाम्रो भनाइ हो।’
ओलीले प्रस्तुत गरेको नाममा विगतमा १० बुँदे सहमतिका आधारमा एमालेमै रहेका नेताहरुले असहमति जनाएका थिए। एमालेले मनोनित गर्नेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतले ठाउँ पाउँदै गर्दा लामो समय एमाले निर्माणमा भूमिका खेलका नेताहरु भने भूमिकाविहीन बने।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरसंघर्षका समयमा नै प्रचण्ड–नेपाल समूह छोडेर ओलीलाई साथ दिँदै एमालेमा रहेका कृष्णभक्त पोखरेल न चितवनमा भएको महाधिवेशनका क्रममा टिममा परे न अहिले मनोनयनकै क्रममा।
उनी मात्र होइन, धेरैजसो नेताहरुलाई पाखा लगाउने काम भएको भन्दै नेताहरुको असन्तुष्टि छ। ‘विभेदपूर्ण, अन्याय र पक्षपात गर्ने काम भएको छ,’ केन्द्रीय सदस्य भपट रावलले भने, ‘भर्खर आएकालाई जिम्मेवारी दिने र लामो समयदेखि कमिटीमा लागेकाहरुलाई वेवास्ता गर्ने काम भएको छ। पार्टी विधि, नीतिअनुसार चल्नुपर्छ भन्नेहरुलाई कतल्याम गरेर पाखा लगाइएको छ।’
उनले भक्तीगान गाउने र जय जयकार गर्नेहरुलाई जिम्मेवारी दिने काम भएको बताए।
‘अन्तरसंघर्षमा सहभागी भएकै नाममा पाखा लगाउने काम भएको छ। १० बुँदेको नाममा हिजो एमालेमा रहेकाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छैन। हिजो भर्खरै एमाले भएकाहरुले उचित जिम्मेवारी पाएका छन्,’ उनले भने।
नेतृत्व भने सबैको उचित मूल्यांकन र व्यवस्थापन भएको बताउँछ। एमाले महासचिव शंकर पोखरेल सबैले चाहेजस्तो जिम्मेवारी दिन सम्भव नहुने भन्दै उचित रुपमा जिम्मेवारी दिइएको बताउँछन्।
‘यो सामान्य विषय हो। यसलाई नयाँ हिसाबले बुझ्न जरुरी छैन,’ उनले भने, ‘ठूलो पार्टीमा विभिन्न पदमा बसेर काम गर्न खोज्ने सबैको चाहना हुन्छ। तर, सबैले भनेअनुसार नै जिम्मेवारी दिन सकिने अवस्था रहँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।