काठमाडौं- अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपको ग्लोबल छनौट प्रतियोगिता आउन अब दुई महिना बाँकी छ। ग्लोबल छनौट पार भए नेपालले सन् २०१४ को सफलता दोहोर्याउँदै दोस्रो पटक विश्वकप खेल्नेछ। र यसपटक पनि सन् २०१४ मा नेपाललाई विश्वकप पुर्याएका पुबुदु दासानायके नै राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक हुनेछन्।
नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकाली मूलका क्यानाडेली नागरिक पुबुदुलाई पुनः मुख्य प्रशिक्षक नियुक्त गरेको छ। तर, उक्त प्रतियोगिताको तयारीका लागि पूर्वविकेटकिपर ब्याट्सम्यान पुबुदुसँग पर्याप्त समय छैन।
क्रिकेटमा विश्वकप छनौट खेलबारे एउटा प्रख्यात भनाइ छ– ‘विश्वकप जित्नुभन्दा छनौट हुन गाह्रो छ।’ वास्तवमै विश्वकप छनौटको यात्रा कठिन र लामो छ। तर, पुबुदुले सन् २०१४ मा नेपाललाई उक्त कठिन यात्रा पार गराएका थिए। नेपालले टि–२० विश्वकप खेलेको मात्र होइन, सम्झनायोग्य छाप पनि छोड्यो। तीन खेलमध्ये अफगानिस्तान र हङकङलाई पराजित गरेको नेपाल बङ्लादेशसँग हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।
पुबुदुले पहिलो कार्यकालमा पटक सन् २०११ देखि २०१६ सम्म नेपाली टोली सम्हालेका थिए। त्यसअघि उनले क्यानाडाको राष्ट्रिय टिमसँग झन्डै एक दशक बिताएका थिए। सन् २००१ देखि क्यानाडाको राष्ट्रिय टोलीबाट खेलेका दासानायके सन् २००४ मा कप्तान भएका थिए।
खेल जीवनबाट सन्यास लिएपछि सन् २००७ देखि उनले क्यानाडाको प्रशिक्षकको जिम्मेवारी सम्हाले। त्यसको करिब ४ वर्षपछि उनी नेपाल आए। उनले नेपालमा मुख्य प्रशिक्षक रोय लुक डायसको ठाउँ लिएका थिए।
प्रशिक्षक डायसले नेपाललाई उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूला सफलताहरू दिलाएका थिए। उनको प्रशिक्षणमा नेपालले लगातार सन् २००२ देखि २००८ सम्मको १९ वर्षमुनि उमेर समूहको विश्वकपमा भाग लियो। सन् २००६ को विश्वकपमा टेस्ट राष्ट्र न्यूजील्यान्डलाई हराउँदै ‘प्लेट च्याम्पियन’ भएको थियो। उमेर समूहअन्तर्गत टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, पाकिस्तान र न्यूजील्याण्डजस्ता राष्ट्रलाई हराउँदै नेपालले क्रिकेट जगतमा सनसनी मच्चाएको थियो।
त्यति बेलाको नेपाली क्रिकेटको पुस्तामा विनोद दासलगायतका खेलाडी थिए। यो पुस्तालाई नेपाली क्रिकेटको ‘आधारपुस्ता’ भनिन्छ। त्यसपछि नेपाली क्रिकेटको जग बलियो बन्दै गएको हो।
डायसको कार्यकालमा नेपालले एसीसी डिभिजन–५ को मात्र उपाधि जित्न सक्यो। यसैकारण १० वर्ष लामो उनको कार्यकाललाई चार वर्षभन्दा कम नेपालमा बिताएका पुबुदुको प्रशिक्षणले ओझेलमा पारिदियो। पुबुदुकै नेतृत्वमा नेपालले डिभिजन–५ देखि २ सम्मको यात्रा तय गरेको थियो। सन् २०१४ मा बङ्लादेशमा भएको विश्वकपमार्फत् नेपालले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो। नेपाली क्रिकेटलाई त्यहाँसम्म पुर्याउन सन् २०१३ को टि–२० विश्वकप छनौट र बर्मुडामा भएको डिभिजन–३ प्रतियोगिताले मद्दत गरेको थियो।
दुबईमा भएको छनौट खेलमा अघिल्लो चरण पुग्न नेपालले क्रिकेटका बलिया राष्ट्रलाई पराजित गर्नुपर्ने थियो। निर्णायक मानिएको खेलमा केन्याले नेपाललाई १८३ रनको बलियो लक्ष्य दिएको थियो। जितका लागि नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। शरद भेषवाकर ‘स्ट्राइक’मा थिए। उनले पहिलो बल ‘डट’ खेले। तर, त्यसपछि लगातार तीन छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रतियोगितामा तेस्रो भयो र विश्वकपको लागि छनौट भयो।
यस्तै, डिभिजन–३ को खेलमा बर्मुडामा भएको प्रतियोगितासमेत पुबुदुका लागि बिर्सन नसक्ने क्षण बन्यो। पहिलो दुई खेलमा पराजित भएको नेपालको फाइनल पुग्ने सम्भावना ज्यादै न्यून थियो। बाँकी तीन खेलमा जितसहित ठूलो नेट रनरेट आवश्यक थियो। अझ अमेरिकाले एक खेल हार्नुपर्ने समीकरण बनेको थियो।
‘खेलमा नेपालले सानदार पुनरागमन गर्यो, बाँकी तीन खेलमा ठूलो अन्तरले जित्यो। अन्तिम खेल चाँडै सकिएको थियो, प्रतीक्षा अमेरिकाको नतिजाको थियो। अमेरिका हार्यो,’ पुबुदु सम्झिन्छन्, ‘दुई खेल हारेपछि प्रतियोगिता जित्छौं भनेर कसैले सोचेको नै थिएनौं।’
नेपालका लागि यस्ता धेरै क्षण छन्। यसबारे पबुदु घण्टौं कुरा गर्न सक्छन्। तर, उनका लागि नेपालसँग जोडिएको बिर्सन नसक्ने क्षण भनेको क्यानले गरेको गलत व्यवहार नै हो।
सन् २०१४ को टी–२० विश्वकपपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मार्ने अपेक्षा थियो। तर, घरेलु क्रिकेटको गतिविधि विवादले घेरिएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई निलम्बन गर्दियो।
कारबाहीको केही महिनाअघि मात्र नेपालको प्रशिक्षकबाट राजीनामा दिएर पुबुदु स्वदेश फिर्ता भए। उनले राजीनामा दिनुको एउटै कारण थियो, कप्तान पारस खड्कालाई हटाउने हल्ला। बङ्गलादेशबाट फर्किएपछि क्यानसँग असमझदारीले त्यतिखेर प्रशिक्षक र क्यान पदाधिकारीको सम्बन्ध राम्रो थिएन। खेलाडी पनि पदाधिकारीसँग असन्तुष्ट थिए।
‘हुन त पारसलाई कप्तानबाट हटाउन सजिलो थिएन, तर हटाउने हल्लाले मलाई निकै दु:खी बनाएको थियो। राजीनामाको एउटा कारण त्यो पनि थियो,’ २०७७ जेठमा नेपाल आउँदा पुबुदुले भनेका थिए, ‘त्यसबेला कम्तिमा दुई वर्ष पारसको अनुभवी टोलीले खेल्न पाउँदा नेपाली क्रिकेटलाई सहज हुने मौका थियो।’
पुबुदु र खेलाडीबीचको सम्बन्ध निकै घनिष्ठ छ। खेलाडीहरूलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय ‘म्याच एक्सोजर’ दिनुपर्ने उनको विचार छ। उनले तत्कालीन कप्तान पारसलाई क्यानडाको ओन्टारियो क्लबमा चार महिनाको व्यावसायिक क्रिकेट प्रशिक्षणको व्यवस्था मिलाइदिएका थिए। ‘पारस एसोसिएटका उत्कृष्ट कप्तान हुन्, उनलाई अन्तर्राष्ट्रिय अनुभवको खाँचो थियो। क्यानडाबाट फर्किएपछि उनले आफ्नो ब्याटिङमा विश्वास गरे, राम्रो प्रदर्शन गरे। उनकै प्रेरणबाट अन्य युवा खेलाडीसमेत अघि बढेर प्रदर्शन गर्न सके,’ पुबुदुले भनेका थिए।
क्षमता भएका युवा क्रिकेटरको पहिचान गर्न पुबुदु माहिर थिए। चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिक्ने सन्दीप लामिछानेलाई नेपाली टिममा भित्र्याउने पुबुदु नै थिए। शक्ति गौचनलाई इण्डियन प्रिमियर लिग (आईपीएल) को क्लब राजस्थान रोयल्समा अभ्यास गर्ने मौका पबुदुले नै मिलाइदिएका थिए। उनकै पहलमा अमृत भट्टराई र चन्द्र साउदले श्रीलंका अभ्यास गर्ने मौका पाएका थिए। अनिल मण्डल, शरद भेषवाकर र ज्ञानेन्द्र मल्लले भारतमा प्रशिक्षण गरेका थिए।
‘जब म नेपाल आएको थिएँ, थुप्रै क्षमतावान खेलाडी थिए। खेल्ने शैली राम्रो थियो। तर, आत्माविश्वासको कमी देखिन्थ्यो। जहिल्यै खेलाडी दुविधामा देखिन्थे,’ उनी भनेका थिए, ‘मलाई लाग्छ, मैले त्यो परिस्थिति परिवर्तन गर्न सकें। त्यसपछि खेलाडीले आफ्नो क्षमतामा विश्वास गर्न सिके र प्रदर्शन गरे।’
प्रशिक्षणसँगै खेलाडीहरूको आत्मविश्वास बढाउन तथा उनीहरूको प्रतिभालाई तिखार्न निकै मिहिनेत गरे। त्यसैकारण होला, क्यानको विवादका कारण नेपाल छाड्ने निर्णय गरेपछि ‘नेपाली क्रिकेटको विकासका लागि पुबुदु नै चाहिन्छ!’ भन्ने आवाज खेलाडी तथा समर्थकबाट उठिरह्यो। तर, त्यसको सुनुवाइ भएन। फलतः उनी अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक बने।
सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका उनले २०१९ मा पदबाट राजीनामा दिए। उनले राजीनामा दिएको दुई महिनापछि अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको छ। राजीनामापछि उनी खाली छन्।
अमेरिकाको मुख्य प्रशिक्षक हुँदा पुबुदुले सधैँ आफ्ना नेपाली खेलाडीलाई सहयोग गर्दै आए। प्रशिक्षक नरहे पनि उनी खेलाडीसँग नियमित सम्पर्कमा थिए। धेरै पटक उनले नेपाली खेलाडीलाई सामाजिक सञ्जालबाटै ‘टिप्स’ दिने गर्थे। त्यसैले प्रशिक्षकको जिम्मेवारी छाडेको ६ वर्ष बिते पनि नेपाली क्रिकेट समर्थकले उनलाई बिर्सिएका छैनन्। सायद पुबुदुलाई समेत नेपाल भुल्न मुस्किल छ।
‘नेपाल आएका प्रशिक्षकमध्ये नतिजाको हिसाबले पुबुदु सर उत्कृट हुनुभयो। मुख्य चाहिँ उहाँले राष्ट्रिय टोलीको राम्रो प्रदर्शन देखाउँदा नेतृत्व दिनुभयो,’ पूर्वकप्तान पारसले नेपाल लाइभसँग भने, ‘उहाँले खेलाडीलाई सधैँ जित्नका लागि प्रेरित गर्नुभयो।’
उनै पुबुदु फेरि मुख्य प्रशिक्षक भएर नेपाल आउँदैछन्। नेपाल आएपछि उनको पहिलो जिम्मेवारी नै टि–२० विश्वकपको ग्लोबल छनौट पार गराउनु हो। ओमानमा आयोजना हुने उक्त ग्लोबल छनौटमा नेपालसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र यूएई गरी आठ राष्ट्रले खेल्दैछन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा छनौट हुनेछन्।
नेपाली क्रिकेट टोलीको लागि यो यात्रा सहज छैन। यूएई, ओमान, आयरल्याण्ड र क्यानडाको सुधारिएको खेलका कारण पनि नेपाल दबाबमा हुनसक्छ। ओमान त पछिल्लो समय बङ्गलादेश, आयरल्याण्ड र वेस्ट इन्डिजजस्ता टोलीसँग क्रिकेट खेल्ने स्तरमा पुगिसकेको छ। उसले श्रीलंका, स्कटल्याण्ड र अफगानिस्तानजस्ता बलिया टोलीसँग खेल्दै आएको छ। तर, नेपालले नेदरल्याण्ड, युएई र पपुवा न्यू गिनीजस्ता आफ्नै स्तरका टोलीबाहेक अरुसँग खेल्ने मौका पाएको छैन।
यता, विगतमा पुबुदु र नेपाली सफलताको सारथी बनेका वसन्त रेग्मी, शक्ति गौचन र पारस खड्का नेपाली टोलीसँग छैनन्। यस्तोमा उनले आरिफ शेख, रोहितकुमार पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोराजस्ता युवा खेलाडीलाई हरेक चुनौतीसँग जुझ्न सक्ने गरी तयार पार्नुपर्ने छ।
यता, नेपालको ब्याटिङ पक्ष परम्परागत रुपमा नै कमजोर छ। पहिला पनि पूर्वकप्तान पारस, कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरमा मात्र ब्याटिङ निर्भर थियो। यी खेलाडी ओपनिङमा आउँदा मध्यक्रम धरासायी हुने गरेको थियो। उनीहरुले मध्यक्रम सम्हाल्दा ओपनिङ गतिलो हुँदैन थियो। खड्काको सन्यासपछि मल्ल र भेषवाकरको प्रदर्शनमा पनि स्थिरता छैन। तर, ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखको प्रदर्शनले केही आशा जगाएको छ।
पर्याप्त ‘म्याच एक्सपोजर’ नहुँदा ब्याटिङ मात्र नभई नेपालको तीव्र र मध्यम गतिको बलिङ पनि ‘लुज मोसन’मा रहेको छ। सोमपाल कामी र करण केसीको प्रदर्शन एकरूपको छैन। उनीहरुको स्तरभन्दा माथिका तीव्र वा मध्यम गतिको बलर पनि पुबुदुले खोज्नुपर्ने छ। जुन उनका लागि ठूलो टाउको दुखाईको विषय हुनसक्छ।
पुबुदुले अब नेपाली खेलाडीको मनोवैज्ञानिक पक्ष र रणनीतिमा बढी काम गर्नुपर्ने देखिएको छ। जसका लागि पहिलेदेखि नै नेपाली क्रिकेटले जाने बुझेको प्रशिक्षक नियुक्ति गर्नु सकरात्मक पाटो भएको पारस बताउँछन्। ‘विश्वकप छनौटको तयारीमा हामी ढिलो भैसक्यौं। त्यसैले सेट भइसकेका खेलाडीलाई स्किल सिकाउने होइन, उनीहरुको आत्मविश्वास बलियो बनाउने र विपक्षी टिमलाई बुझेर रणनीति बनाउने बेला हो। धेरैजसो खेलाडीको पहिलेदेखि नै उहाँसँग चिनजान छ। त्यसैले सहज होला,’ पारसले भने।
पुबुदु सधैँ ‘भिजन’ त्यसअनुसारको योजनाअनुसार अघि बढ्ने प्रशिक्षक हुन्। यस पटक पनि नेपाली क्रिकेटलाई अघि बढाउने उनीसँग नयाँ ‘भिजन’ पक्कै हुनुपर्छ। डिभिजन–५ देखि ४, ३ सम्म नेपाली खेलाडीले आफ्नो क्षमताले जित्न सके। डिभिजन–१, १ र पछिल्ला खेलहरुमा क्षमता र प्रतिभामात्र पर्याप्त देखिएन। अब ‘म्याच एक्सपोजर’को खाँचो छ। जसका लागि लामो समयको प्रशिक्षण र नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता चाहिन्छ। घरेलु अभ्यास पर्याप्त हुनुपर्छ। खेलाडीहरुले देशबाहिर गएर ठूला क्लबबाट खेल्ने मौका पाउनुपर्छ। राष्ट्रिय टिमका पछाडि ‘ए’ टिम तयार हुनुपर्छ। यू–१९ टिम तयार रहनुपर्छ।
पुबुदु आउँदाआउँदै क्यानभित्र मौलाएको राजनीतिले फेरि क्रिकेटको भविष्य अन्यौलमा पर्ने हो कि भन्ने चिन्ता सुरु भएको छ। यस्तो अवस्थामा टिम बलियो बनाउनु र खेलाडीमा खेल संस्कारको विकास गर्नु उनका लागि चुनौती बन्न सक्छ। उनले आउँदाआउँदै अबको दुई महिनामा ठूलो प्रतियोगिताका लागि गर्ने तयारीले नेपालको क्रिकेटको आगामी बाटो कोर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।