काठमाडौं– नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बैंकले ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत सरल बैंकिङ सेवाको अनुभव गराउने उद्देश्यले डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले नबिल डिजिबैंक पोर्टलको सार्वजनिक गरेका हुन्। पोर्टल सार्वजनिक गर्दै सिइओ शाहले मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताए। अब हरेक काम प्रविधिमैत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको उनले बताए।
नबिल बैंकले कोभिड–१९ भन्दा अगाडि नै डिजिटलका कुरा गरे पनि प्रयोगमा नआएको उनले बताए। उनले नबिल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नबिल डिजिबैंक पोर्टल सुरुवात भएको बताए।
‘अहिले हरेक मानिसको दैनिकी प्रविधिसँग जोडिएकाले डिजिटल पोर्टलहरुको विकास हुनु जरुरी छ,’ उनले भने, ‘नबिल बैकले बैंकिङ सेवा मात्रै नभएर तरकारी किन्नेदेखि बस, हवाई टिकट काट्नेसम्मका सेवा दिनको लागि नबिल पोर्टलको सुरुवात गरिएको हो।’
पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत सेवाहरू प्राप्त गर्न सक्नेछन्। बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन/सेवा सुरुवात गरेको छ।
नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनेछन्। आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।