काठमाडौं- राजश्व अनुसन्धान विभागले सत्यम् शिवम् कन्स्ट्रक्सन प्रालिविरुद्ध नक्कली भ्याट बिल प्रयोग गरी राजश्व ठगी गरेको आरोपमा मुद्दा दायर गरेको छ।
विभागले कन्स्ट्रक्सनका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीता झाविरुद्ध ५० लाख ७६ हजार १ सय ९३ रुपैयाँ विगो र सोही बराबर जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो।
विभागले उच्च अदालत पाटनमा उनीहरुसँग विगो र शतप्रतिशत जरिवाना गरि १ करोड १ लाख ५२ हजार ३ सय ८३ रुपैयाँ असुल हुनुपर्ने माग गरेको छ।
सिन्धुपाल्चोक लिसंखुपाखर स्थायी ठेगाना भइ हाल काठमाडौंको बूढानीलकण्ठ ठेगाना भएको उक्त कन्स्ट्रक्सनका सञ्चालकहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकमात्र खरिद गरि मूल्य अभिवृद्धी कर तथा आयकर समेतको राजश्व चुहावटको कसुर गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
उनीहरुले मूल्य अभिवृद्धिकर तर्फ १६ लाख ७७ हजार ३ सय ३४ र आयकर तर्फ १९ लाख ४१ हजार ९ सय ८२ रुपैयाँ राजश्व चुहावट गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।