झापा– नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ।
क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा ५ करोड १५ लाख २५ हजार रुपैयाँबराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात भएको हो। गत वर्ष सोही अवधिमा ४ करोड ५१ लाख ९४ हजार रुपैयाँ बराबरको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो।
भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले बताए। गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको उनले जानकारी दिए।
नेपाल २० वर्षअघि सम्म कोदोमा आत्मनिर्भर रहेको थियो। कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए।
नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको उनले बताए। विशेषगरी रक्सी बनाउनका लागि कोदो आयात हुने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।