नवलपुर– आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै २ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा १ अर्ब ९४ करोड ८९ लाख पाँच हजार रुपैयाँ बढी राजस्व असुली गरेको हो।
कार्यालयले कात्तिक मसान्तसम्म ५ अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व संकलन गर्न सफल भएको अधिकारीले जानकारी दिए।
कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा असुली गरेको छ। प्रथम चौमासिकमा अन्तःशुल्क शीर्षकमा रु पाँच अर्ब ५६ करोड ५२ लाख ४८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु सात अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको अधिकारीले बताए। त्यस्तै कार्यालयलले आयकर शीर्षकमा १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा नौ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा एक करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा एक करोड आठ लाख ७० हजार, घरबहाल कर शीर्षकमा ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुनालमा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्तःशुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ। त्यसैगरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेको अधिकारीले बताए। कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत मात्रै प्रगति हासिल गरेको अधिकारीले बताए।
आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।