काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टर स्थापना गरेको छ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त सेल्स काउण्टरको एक समारोहबीच आज उद्घाटन गरे। केन्द्रीय कार्यालयसँगै निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः सेल्स काउण्टर खोल्दै जाने लक्ष्य राखिएको निगमले जानकारी दिएको छ।
नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुहरुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टर स्थापना गरिएको कार्यकारी अध्यक्ष अधिकारीले बताए।
नेपाली कच्चा पदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, व्यालेट, पर्सका साथै कप, टी-म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो र विमानका नमूनाजस्ता सामानहरु सेल्स काउण्टरमा उपलब्ध हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।