काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन्। यसअन्तर्गत निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको उनले बताए।
राजधानीमा आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्त्विक संरचनाहरू सरकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताए। साथै, विपद् व्यवस्थापनसम्बन्धी कार्यहरू विपद् व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका बस्तीहरूको स्थानान्तरणका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको तथा बस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको जानकारी दिए।
भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी एवम् सार्वजनिक ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको उनले उल्लेख गरे।
सफल पुननिर्माण कार्यले क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभइ त्यस क्रममा कार्य सम्पादनमा नेपालको निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको उनको भनाइ थियो। साथै, राजनीतिक दलहरुको सङ्कल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटिएका जनशक्तिको लगनशीलताका कारणले सफलता हात लागेको उनले बताए।
अर्थमन्त्री शर्माले भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता पाउनुका साथै भूकम्पपछि भौतिक संरचना पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन भएको र यसको कार्यकाल सन्तोषजनक रुपमा सम्पन्न भएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।