काठमाडौं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदेश-१ का सभापतिका उम्मेदवार गुरुराज घिमिरेलाई मतदान नगरेको प्रति क्षमा मागेका छन्।
नेता कोइरालाको जोडबलमै प्रदेश अधिवेशनको सभापतिमा घिमिरे उम्मेदवार बनेका थिए। तर, संस्थापनइतरका केन्द्रीय नेताहरुले नै मत नदिँदा घिमिरे पराजित बन्न पुगेका छन्। दुई मतले पराजित बनेका घिमिरेलाई उनी पक्षीय नेताहरुले मत दिएको भए जीत निकाल्ने थिए।
शेखरसहित केन्द्रीय नेताहरु महेश आचार्य र सुजाता कोइराला मतदानमा सहभागी नै नभएको बताइएको छ। केन्द्रीय नेताले प्रदेश अधिवेशनमा मतदान गर्न पाउने/नपाउने अन्योलले गर्दा आफूले मत नदिएको शेखरले स्पष्टिकरण दिएका छन्।
प्रदेशमा मत दिँदा भविष्यमा कानुनी जटिलता आउने परामर्श पाएकाले मतदानमा भाग नलिएको उनले प्रष्टाए। ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय सुरु देखि नै ‘संशय’ थियो।’ शेखरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।’
मतदानमा भाग नलिनु कमजोरी भएको स्वीकार्दै शेखरले क्षमा मागेका छन्।
दुई मतले पराजित घिमिरेले पुन मतगणना माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।