काठमाडौं- नेपाली कांग्रेस प्रदेश-१ को सभापतिमा दुई मतले पराजित गुरुराज घिमिरेले ट्रेण्ड अनुसार अन्त्यतिर अस्वाभाविक मत आएको भन्दै पुनः मतगणनाको माग गरेका छन्।
मतगणना जारी रहँदा निश्चित ट्रेण्डबाट आफ्नो मत आइरहेको भएपनि अन्त्यतिर अस्वाभाविक कम मत आएको उनको भनाइ छ।
'मतगणना गर्दा निश्चित ट्रेण्डबाट मेरो मत आइरहेको थियो। सामान्य उतारचढाव थियो। १४ सय मत गन्दा म १८ मतले अगाडि थिएँ। तर, त्यसपछिको गणनामा मेरो अस्वभाविक कम मत आयो,' घिमिरेले नेपाल लाइभसँग भने, 'राति मतगणना भएकोले कहिँकतै गडबड भयो कि भन्ने साथीहरुको सल्लाह रह्यो।'
संस्थापनइतरका घिमिरेले पुनः मत गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्। पार्टीको आन्तरिक चुनाव भएकाले पुन: मतगणनाको माग गरेको उनले बताए।
'पार्टीको आन्तरिक चुनाव भएकोले पुनः गणना गरौं न त भन्ने लागेर मैले पुनः मतगणनाको माग गरेको छु' उनले भने।
प्रदेश निर्वाचन आयोगले केन्द्रीय निर्वाचन आयोगलाई खबर गरिसकेको र केन्द्रबाट पनि गणना गर्नु उचित भन्ने सल्लाह आएको बताउँदै घिमिरेले भने, 'अब मतगणना होला।'
घिमिरे संस्थापनपक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका थिए। थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।