काठमाडौं– देशको सर्वोच्च कार्यकारी पदमा रहेका प्रधानमन्त्रीको व्यस्तता बढी हुन्छ। प्रधानमन्त्रीलाई भेट्न उच्च तहका व्यक्तिलाई समेत सहजै समय प्राप्त हुँदैन। पार्टीका शीर्ष तहका नेताले पनि समय लिएपछि मात्रै भेटको टुंगो लाग्छ।
कांग्रेसको महाधिवेशन नजिकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको ब्यस्तता झनै बढेको छ। अन्य व्यक्तिका लागि भेटको व्यवस्था गर्न थप कठिनाई भए पनि कांग्रेस महाधिवेशन प्रतिनिधिले प्रधानमन्त्री देउवालाई भेट्न सहजै पाउने अवस्था बनेको छ। देउवाको ध्यान यति बेला राज्यका प्रशासनिक कार्यमा कम र महाधिवेशनतिर बढी छ।
तल्लो तहबाट प्रतिनिधि भएर आएका कांग्रेस कार्यकर्ताको सिधा पहुँच देउवासम्म पुगेको छ। अन्य आगन्तुकलाई कम समय दिएर देउवाले महाधिवेशन प्रतिनिधिलाई बढी समय दिने गरेका छन्। बालुवाटार स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिले प्रधानमन्त्री देउवालाई भेट्न चाहे तुरुन्त समय उपलब्ध हुन्छ।
विगत केही दिनदेखि जिल्लाबाट आउने प्रतिनिधिहरुको बालुवाटारमा चाप छ। देउवालाई भेट्न उनी पक्षीय मात्र नभइ संस्थापकइतर पक्षका प्रतिनिधि पनि आउने गरेको बालुवाटार स्रोतले जानकारी दियो। महाधिवेशन प्रतिनिधि भएर आएका कार्यकर्ता सिधै प्रधानमन्त्रीकहाँ पुग्ने क्रममा बीचमा केरकार नगर्न समेत सुरक्षाकर्मीलाई सुझाइएको छ।
देउवाले दोस्रो चरणमा मतदान हुनै नपर्ने गरी सभापतिमा चुनिन भरमग्दुर प्रयास गरिरहेका छन्। त्यसैका लागि देउवाले अधिकतम समय प्रतिनिधिसँगको भेटका लागि खर्चिने गरेका हुन्। दुई पटकभन्दा बढी सभापति हुन नपाउने विधानको व्यवस्थाले देउवालाई पुन सोही पदमा प्रतिस्पर्धा गर्ने सुविधा छैन।
सभापतिको शक्तिमा प्रधानमन्त्रीको कार्यभार थपिएपछि देउवा पार्टीमा थप बलियो बनेका छन्। उनलाई भेट्न आउने कार्यकर्तालाई उपयुक्त स्थानमा व्यवस्थापन गर्ने आश्वासन र प्रतिबद्धतासमेत उनले दिने गरेको स्रोत बताउँछ।
पत्रकारसँग अन्तक्रिया गर्न खासै रुची नराख्ने देउवाले विगत केही दिनदेखि सम्पादकहरुसँग नियमित भेटिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।